• २५ चैत २०८१, सोमबार

म्याग्दीदेखि ढोरपाटन सडक सञ्जालसँग जोडिँदै

blog

निर्माणाधीन मुना-ढोरपाटन सडक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

म्याग्दी, चैत २४ गते । म्याग्दीदेखि ढोरपाटन सडक सञ्जालसँग जोडिने भएको छ । संघीय सरकारको बजेटबाट निर्माणाधीन मुना-जलजला-ढोरपाटन सडक योजना मार्फत अहिले सडकको ट्रयाक खोल्ने योजना सञ्चालनमा छ । 

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक अन्तर्गत मुना–ढोरपाटन सडक निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा पाँच करोड ३९ लाख रुपियाँ बजेट विनियोजन गरेसँगै म्याग्दीदेखि ढोरपाटन जोड्ने सडकको ट्रयाक खोल्न थालिएको हो । म्याग्दीका ग्रामिण बस्ती हुँदै जोडिने सडकका कारण पर्यटन प्रवर्धनमा टेवा पुग्ने आशा गरिएको छ । 

सडक डिभिजन कार्यालय बागलुङले सडक निर्माणका लागि भ्याटसहित गत माघ ९ गते दुई करोड ४ लाख ९६ हजार रुपियाँमा आगामी असार १५ गते सम्म योजना सम्पन्न गर्न तिलक सर्वसिद्ध सोले जेभी बागलुङसँग ठेक्का सम्झौता गरी सडक निर्माण थालिएको कार्यालयका इन्जिनियर विष्णु लामिछानेले बताउनुभयो । उहाँका अनुसार मुनाको बाख्रेखोलादेखि निर्माण थालिएको योजनामा हालसम्म २० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । 

मजदुर र उपकरण प्रयोग गरेर निर्माण व्यवसायीले सडक निर्माणलाई तिव्रता दिएको कार्यालयका इन्जिनियर लामिछानेले बताउनुभयो । उहाँका अनुसार हाल सम्म तीन किलोमिटर सडकको ट्रयाक खोलिएको र बाँकी ६ किलोमिटर सडकको ट्रयाक खोलेपछि ढोरपाटनसँग म्याग्दी जोडिने छ । 

यसैगरी सडक डिभिजन मार्फतनै थप एक करोड बजेट बिनियोजन भएको योजनाबाट मुना-खोरीया-मरेनी खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ । काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना-खोरिया-मरेनी हुँदै करिब ५६ किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । 

उहाँले भन्नुभयो, "बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ ।" पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी रहेको उहाँको भनाइ छ । यो मार्ग खुलेपछि पालिकाको पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो । 

जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्ने भएकाले धेरै जनसङ्ख्या लाभान्वित हुने उहाँले बताउनुभयो । म्याग्दीको धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो । 

बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न अहिले दुई वटा शीर्षकबाट सडक निर्माणको काम भइरहेको छ ।