• २५ चैत २०८१, सोमबार

मध्यपहाडी लोकमार्गको बागलुङ बजार क्षेत्रमा स्तरोन्नति हुँदै

blog

पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत रामरेखा क्षेत्रमा काम गर्दै मजदुरहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, चैत २४ गते ।
भौगोलिक हिसाबले दुर्गममा रहेको निसीखोलामा कालोपत्र सडक टल्किँदासमेत हिलो धुलोको समाना गरिरहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजार क्षेत्रले रुप बदल्न थालेको छ । यहाँको सडक मापदण्ड पूरा गरेर धमाधम स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको हो ।

सडक निर्माणको काम थालेको झण्डै १५ वर्षपछि मध्यपहाडी लोकमार्गले मुहार फेर्दै छ । सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिकै काम रोकिएको थियो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १ बोङेचौरको घुम्तीदेखि बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरको बुर्तिवाङ चोकसम्मको २१ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्र हुन लागेको हो । यो खण्डले बागलुङ बजार क्षेत्रको मुहार फेर्ने छ । तत्कालका लागि १२ मिटरको दुई लेन सडकमा नालीदेखि टेवा पर्खाल निर्माणको काम चलिरहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिका लागि १० करोड रुपियाँ बजेट रहेपनि निर्माण कम्पनीले भ्याटसहित ६ करोड ७२ लाख ६५ हजार रुपियाँमा सम्झौता गरी काम गरिरहेको सुवेदीले बताउनुभयो । २०८१ भदौ १५ गते ठेक्का सम्झौता गरेको एच.सी.बि.जि.सी.एस. कम्पनीले आगामी २०८२ भदौ १५ गतेभित्र सडक स्तरोन्नतिसँगै कालोपत्रको काम काम सम्पन्न गर्नुपर्ने छ ।

अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्रे गरिने इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्र गर्दा लामो समय टिकाउ हुने र वर्षेनि सडक मर्मत र खाडल पुनुपर्ने झन्झटबाट केही हदसम्म मुक्त मिल्ने इन्जिनियर सुवेदीको भनाइ छ ।

लोकमार्ग विस्तार गर्दा घरघडेरी क्षति हुँदा उठीबास हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै बनाएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार र कालोपत्रको काम हुन सकेको थिएन । सर्वाेच्चले बाङेचौरदेखि उपल्लाचौरको बुर्तिवाङ चोकसम्म १५ मिटर बाटो कायम गरिदिएपछि स्तरोन्नतिको काम अघि बढेको हो ।

लामो समयदेखि सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा असहज भइरहेको छ । बैतडीको झुलाघाटदेखी पाँचथरको चिवाभञ्ज्याङसम्म फैलिएको मध्यपहाडी लोकमार्गको झण्डै एक सय ४६ किलोमिटर खण्ड बागलुङमा पर्छ । त्योमध्ये अब कालोपत्र हुन १४ किलोमिटर बाँकी छ ।