टोपलाल अर्याल
रेसुङ्गा, चैत २४ गते । गुल्मीको मालिका गाउँपालिका–८ को थानपती आधारभूत विद्यालयले बिद्यालय चलाउन मुस्किल भएपछि शैक्षिक सुधारको अभियानमार्फत चन्दा सङ्कलन गरिरहेको छ । अहिलेसम्म अभियानमार्फत दश लाख ३४ हजार ७०० रुपियाँ सङ्कलन भएको छ । अभियान विद्यालय व्यावस्थापन समितिको नेतृत्वमा अगाडी बढेको छ ।
सङ्कलित रकम अक्षयकोषमार्फत आउने व्याजबाट निजी शिक्षकलाई तलब तथा शैक्षिक क्रियाकलापहरुमा खर्च गरिने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले ‘थानपती कल्याणकारी कोष’ स्थापना गरेर व्याजबाट खर्चको जोहो गर्नुनै अभियानको प्रमुख उद्धेश्य रहेको बताउनुभयो । उहाँका अनुसार अभियानबाट अहिलेसम्म दश लाख ३४ हजार ७०० रुपियाँ सहयोग सङ्कलन भएको छ ।
‘गाउँका विद्यालयका आफ्नै दुःख छ । विद्यार्थी धेरै शिक्षक कम हुँदा चलाउनै मुस्किल छ,’ खड्काले भन्नुभयो, ‘सङ्कलित रकमबाट अक्षयकोष निर्माण गरेर ब्याजबाट खर्च चलाउँछौ ।’ अहिलेसम्म १२७ जनाले अभियानका सहयोग गरेका छन् । धेरै ठाउँमा आर्थिक स्रोत जुटाउन महायज्ञ र मेला महोत्सव गर्ने चलन भएपनि आधा खर्च हुने, बोलकबोल रकम उठाउन मुस्किल हुने भएकाले नगरिएको खड्काले बताउनुभयो । अभियानमा न्यूनतम एक हजार ५०० सयदेखि अधिकतम ५५ हजार ५५५ रुपियाँसम्म सहयोग भएको छ ।
अभियानमा १५ हजार भन्दा बढि सहयोग गर्नेहरुको ताम्रापत्र र ५० हजार भन्दा धेरै सहयोग गर्नेको दुई पुस्ते ताम्रापत्रमा उल्लेख गर्ने योजना बिद्यालय व्यावस्थापन समितिले गरेको छ । विद्यालयले शैक्षिक सुधारका लागि निरन्तर रुपमा अभिभावक भेलाहरु गर्ने, विद्यालय अभिभावक भेटघाट, शैक्षिक तथा वातावरणीय सुधारका काम गरिरहेको छ । थानपती आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द बुढामगरका अनुसार वार्षिक सार्वजनिक विदामा पनि अध्ययनको व्यावस्थापन गरिएको छ ।
थानपती आधारभूत विद्यालय उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको रुपमा जिल्लामा सम्मानित भएको छ । विद्यालयमा चासो राखेर विद्यार्थीप्रति उत्तरदायी बन्ने अभिभावकहरुलाई सम्मान गर्ने अभियान पनि सुरु गरेको छ । सोहि अभियान अन्तरगत अहिले स्थानीय अभिभावक प्रेमाकुमारी खड्कालाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ । थानपती आधारभूत विद्यालयमा एक सय २२ बिद्यार्थी र १२ जना शिक्षक छन् । प्राथमिक तहमा पाँच दरबन्दी, एक स्थानीय पालिकाको काजमा गरेर छ जना तथा कक्षा ६–८ मा एक संघीय र एक पालिका अनुदानका शिक्षक छन् ।