नौरते नेपाली
सिंजा (जुम्ला), चैत २४ गते । जुम्लामा लाखौँ बजेटबाट निर्माण भएका सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्र परेका छन् । प्रदेश सरकार र पालिकाको बजेटबाट निर्माण भएका लिफ्ट आयोजना अलपत्र भएका हुन् ।
तिला गाउँपालिकामा चार, हिमामा चार र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रति आयोजनामा कम्तीमा ५० लाख रुपियाँभन्दा धेरै बजेट खर्च भएका छन् । तर अहिले चारवटा आयोजना मात्र सञ्चालनमा छन् ।
१२ वटा लिफ्ट सिँचाइका आयोजना लथालिङ्ग अवस्थामा रहेका तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ ।
खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित (पाखो) २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्र खेती भएको छ । जिल्लामा खेतीका लागि सिंचाइ सुविधा पुगेको भन्दा नपुगेका जमिन धेरै छ ।
सिँचाइ नहुने जमिनमा विशेषगरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाईदै आएको छ । सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्याउन एक दशक अघिदेखि नजिकको तिला र हिमा नदीको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिंचाइ गर्ने योजना ल्याए पनि आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको यहाँका स्थानीयवासी बताउँछन् ।