सुदामा ब्राह्मण कुलमा जन्मेका हुन् । उनका पिताको नाम मटुक हो । आमाको नाम रोचना हो । श्रीमद्भागवतको दशम स्कन्दको ८० औँ अध्यायमा सुदामा र श्रीकृष्णको भेटघाटको प्रसङ्ग आउँछ । श्रीकृष्ण भगवान्का एक जना मिल्ने साथी थिए । उनी अध्यात्मका विषयमा जान्ने थिए । विषयदेखि विरक्त थिए । आफ्ना इन्द्रियलाई नियन्त्रणमा राख्ने (जितेन्द्रिय) थिए । उनको चित्त शान्त थियो । उनी घर गृहस्थीमै थिए । यति हुँदाहुँदै पनि उनी जे वस्तु मिल्दछ त्यसमै सन्तुष्ट भएर रहन्थे । उनका लुगा पुराना र थोत्रा हुन्थे । उनकी पत्नी सुशीला पनि त्यस्तै लुगा लगाउँथिन् । पौष्टिक खानेकुरा खान नपाएकाले उनको शरीर दुब्लोपातलो थियो । उनको घरको अवस्था दयनीय थियो । घरमा साह्रै नै समस्या भएपछि एक दिन सुदामाकी पत्नी सुशीला पतिका नजिकमा गएर गुनासो गरिन्, “हे पतिदेव, हजुरका साथी श्रीकृष्ण भगवान् हुनुहुन्छ । उहाँ ब्राह्मणका परम भक्त हुनुहुन्छ । शरणमा पर्नेहरूको उद्धार गर्नुहुन्छ । यसरी गरिबीमा परेर बस्नु राम्रो होइन । तपाईं पनि उहाँलाई भेट्न जानुहोस् ।” पत्नीको अनुरोधपछि सुदामा भगवान् कृष्णलाई भेट्न द्वारका जाने निधो गरे ।
आफ्ना पुराना मित्रकहाँ रित्तै हात जान सुदामाको मन मानेन । कृष्णलाई के कोसेली लगिदिने होला ? भन्ने चिन्ताले सुदामालाई सतायो । पतिको चिन्ता कम गर्न सुदामाकी ब्राह्मणी छिमेकीको घरमा गइन् । त्यहाँबाट उनले चार मुठी चिउरा (पृथुकतण्डुल) मागेर ल्याइन् । एउटा पुरानो रुमालमा बाँधेर पतिलाई दिइन् । पत्नीले दिएको त्यो पोको बोकेर कृष्ण द्वारकातिर गए ।
बाटामा जाँदै गर्दा सुदामाको मनमा कृष्णसँग कसरी भेट्ने ? चिउराको कोसेली कसरी दिने जस्ता अनेकन तर्कना आए । द्वारका पुगेर उनले आफ्नो परिचय दिएर महलमा प्रवेश गरे । महलमा प्रवेश गर्दा उनी आनन्दित बने । सुदामा आएको दृश्य कृष्णले परैबाट देखे । त्यतिबेला उनी रुक्मिणिसँग गफगाफ गरेर बसिरहेका थिए । आफ्ना पुराना मित्रलाई अकस्मात् आफ्नो दरबारमा देखेपछि कृष्ण हत्तपत्त आफ्नो ठाउँबाट उठे । सुदामाको नजिक गए । अँगालो हाले । मायाले सुमसुम्याए । खुसी भए । आँखाबाट प्रेमका आँसु झार्न थाले । कृष्ण र सुदामाले गुरुकुलमा रहेर सँगै खेल्दा पढ्दाका कुरा झिके । जङ्गलमा दाउरा खोज्न जाँदा पाएको दुःख सम्झे । सान्दी पनि गुरुले गरेको माया सम्झे । अन्य धेरै रमाइला कुरा सम्झे । सुदामाका घरजमका बारेमा सोधे । त्यत्तिकै श्रीकृष्णले मुसुमुसु हाँस्दै सुदामालाई आफ्ना लागि के कोसेली ल्याइदिएको भन्दै भने, “पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति । तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ।” अर्थात् कुनै पनि भक्तले मलाई पात, फूल, फल वा जलमध्ये जे दिन्छ, त्यो प्रेमपूर्वक अर्पण गर्छ भने म प्रसन्न हुन्छु ।
सुदामाले चिउराको पोको झिकेर दिन लाज माने । श्रीकृष्णले सुदामा आउनाका कारण भित्रभित्रै थाहा पाइसकेका थिए । सुदामाले भित्र पोकोमा लुकाएको चिउरा आफैँ झिकेर “यो के हो ?” भने । अनि त्यो कोसेली आफूलाई अति नै मन पर्ने कुरा सुनाए । एक मुठी चिउरा झिकेर खाए । त्यो रात सुदामा त्यहीँ बसे । बाटासम्म आएर कृष्णले सुदामालाई बिदा गरे । कृष्णले सुदामालाई प्रत्यक्ष रूपमा केही पनि दिनुभएन ।
बाटामा कृष्णसँगको भेटको कुरा सम्झँदै सुदामा गए । घर पुग्ने बेलामा आफ्नो गाउँ नै फरक भएको देखे । उज्याला महलहरू देखे । ठाउँ ठाउँमा विभिन्न बगैँचा देखे । गाउँमा उनलाई भव्य स्वागत गरियो । उनी पत्नीका साथ महलमा प्रवेश गरे । पहिलेको उनको झुपडी अहिले महल भएको थियो । ब्राह्मण सुदामा यो देखेर छक्क परे । कृष्ण भगवान्का कृपाले यो सबै प्राप्त भएको कुरा सुदामाले बुझे । त्यसपछि पनि उनी पहिले जस्तै भौतिक वस्तुमा धेरै लोभलालचा नराखी गृहस्थ जीवनमा रहिरहे ।