शालिग्राम नेपाल
चितवन, चैत २४ गते । कुपोषण हुनबाट बचाउन खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषणमा अनुदान दिन थालेको छ ।पालिकाले छ महिनादेखि तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषणयुक्त खाना खुवानका लागि अनुदान रकम दिन थालेको हो ।
नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई दैनिक एउटा अण्डा र एक गिलास दूध खरिद गरेर खान पुग्नेगरी रकम दिन थालेको हो । दैनिक ४० रुपियाँका दरले प्रतिबालबालिका मासिक एक हजार दुई अनुदान लाभग्राहीका अभिभावकलाई बैंक खातामार्फत उपलब्ध गराउन थालेको नगर प्रमुख शशिकुमार खनियाँले जानकारी दिनुभयो ।
पालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने अतिविपन्न घरपरिवारका बालबालिकाको पोषणमा सुधार ल्याई सक्षम जनशक्ति विकास गर्न कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ९७ बालबालिकालाई पोषणबापतको रकम प्रदान गरिएको हो ।
प्राप्त अनुदान रकम केबल बाल्यकालिन पोषणमा खर्च गर्नुपर्ने, अनुगमनको क्रममा मद्यपान, धूमपानजस्ता कुलत तथा अन्य घर खर्चमा प्रयोग गरेको पाइएमा अनुदान कटौतीसम्म हुनसक्ने उहाँले जानकारी दिनुभयो ।
नगर उपप्रमुख कविता उप्रेतीले दुई वर्षसम्म बालबालिकाको ८० प्रतिशत र पाँच वर्षसम्म ९० प्रतिशत मानसिक विकास हुने तथा मानसिक र शारीरिक विकासमा पोषणको अत्यन्तै उच्च महत्व रहने भएकाले नगरपालिकाले पोषण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।