• २५ चैत २०८१, सोमबार

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित

blog

मुगु समाचारदाता 

मुगु, चैत २४ गते । यहाँको छायानाथ रारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस क्षेत्रका सेवाग्राहीले समस्या भोग्नु परेको छ । 

छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामका अनुसार दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा चालु आर्थिक वर्ष सकिन अब साढे तीन महिना मात्रै बाँकी रहेको छ । केही योजना सम्झौता हुँन बाँकी छन् । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा नगरका सेवाग्राहीले समस्या झेल्नु परेको छ । ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका नागरिकले समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा उहाँहरूलाई पनि समस्या थपिएको गुनासो आउने गरेको छ । उहाँले भन्नुभयो, “नगरमा यस्ता समस्या दिनप्रतिदिन बढ्दै गएकाले नगरको काम छिटोछरितो सम्पादन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नियुक्ति भएर आउने नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई चैत २५ गतेभित्र नगरमा आइपुग्न भएिको छ ।”

यता छायानाथ रारा नगरपालिका–१४ का स्थानीय अम्मरलाल बुढाका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको रकम भुक्तानी पाउन सकिएको छैन । छायानाथ रारा नगरपालिका–१३ का स्थानीय प्रेमलाल रोकायाले नगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामको चाप बढेको र सेवाग्राहीले सेवा नपाएको जनाउनुभयो । उहाँले कार्यालयमा भएका केही कामकाजी कर्मचारी पनि कामविहीन जस्तै बस्नु परेको बताउनुभयो । 

नागरिक समाजका अगुवा रूपबहादुर मल्लले स्थानीय तहको दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि आउँदासमेत दुर्गमका स्थानीय तहमा कर्मचारी व्यवस्थापन नहुँदा समस्या थपिएको जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा समयमै सेवाग्राहीले सेवा लिन नसकेकाले जतिसक्यो छिटो अधिकृत ल्याउन उहाँले माग गर्नुभयो । सेवाग्राही कार्यालय पुगेर रित्तो फर्किनुपर्ने अवस्था छ ।

७४ वर्षीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीका अनुसार नगरबाट सामाजिक सुरक्षा भत्ता समयमै नपाउँदा दैनिक उपभोग्य वस्तुको जोहो गर्न सास्ती भएको छ । उहाँले छिटो यो समस्या समाधान गर्न माग गर्नुभयो ।