• १७ असार २०८१, सोमबार

राजेन्द्र सुवेदी युग पुरुष हुनुहुन्थ्यो : प्रा.डा. त्रिपाठी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रा.डा. वासुदेव त्रिपाठी ।

काठमाडौं, जेठ २१ गते। प्रा.डा. वासुदेव त्रिपाठीले प्राध्यापक राजेन्द्र सुवेदी नेपाली साहित्यको युग पुरुष भएको सम्झना गर्नुभएको छ। राजेन्द्र सुवेदीको पहिलो स्मृतिमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिपाठीले यस्तो बताउनुभएको हो।

 सुवेदीलाई सम्झदै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले भन्नुभयो, ‘‘हामीले आज गर्ने भनेको सम्झना मात्र हो। उहाँका रचना र उहाँले देखाउनुभएको बाटो सम्झने हो। वास्तवमै राजेन्द्र सुवेदी युग पुरुष हुनुहुन्थ्यो।’’ त्रिपाठीले सुवेदीलाई अगस्ती प्रतिभाको रुपमा व्याख्यासमेत गर्नुभयो। अहिलेको समालोचनामा सिद्धान्तको भय बढी र अध्ययन कम भएको भन्दै उहाँले समालोचनाका लागि राजेन्द्र सुवेदी जत्तिको प्रतिभा नभएको उल्लेख गर्नुभयो। 

राजेन्द्र सुवेदी स्मृतिसभा, शब्दाङ्कुर मासिक र पाँचथर समाजले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा एकसाथ तीन पुस्तक र एउटा वृत्तचित्र सार्वजनिक भएका हुन्। 

कार्यक्रममा ‘राजेन्द्र सुवेदीको अन्तः संवेदना’ कवितासंग्रह, शब्दाङ्कुर साहित्य प्रधान मासिकको राजेन्द्र सुवेदी स्मृति अंक, सहयात्रा (संयुक्त कवितासंग्रह) र दृश्य बिम्बमा राजेन्द्र सुवेदी वृत्तचित्र सार्वजनिक गरिएको हो। सोही समारोहमा शब्दाङ्कुर साहित्य प्रधान मासिक पत्रिकाको अनलाइनसमेत सार्वजनिक भएको छ। 

कार्यक्रममा प्रा.डा. रमेश भट्टराईले राजेन्द्र सुवेदीको अन्त संवेदना (कवितासंग्रह)को समीक्षा गर्नुभयो। उहाँले सुवेदीको सानो कृति भित्र विश्व रहेको चर्चा गर्नुभयो। ‘‘कविता कृतिमा विविधता छ। ३८ वटा कविता समावेश भए पनि विषयको विविधता महत्वपूर्ण प्राप्ति भएको उहाँको भनाइ छ। ‘‘सानो कृतिभित्र विश्व छ’’, उहाँले भन्नुभयो। सुवेदीका कवितामा भाषा र लयको चेतना शक्तिशाली भएको उहाँको भनाइ छ। 

प्रा.डा. कृष्णप्रसाद घिमिरेले शब्दाङ्कुर साहित्य प्रधान मासिकको राजेन्द्र सुवेदी स्मृति अंकमाथि समीक्षात्मक मन्तव्य राख्नुभयो भने लेखक राजन मुकारुङले सहयात्रा (संयुक्त कवितासंग्रह)को समीक्षात्मक टिप्पणी गर्नुभयो।

 कार्यक्रममा माधव प्रधानको निर्देशनमा तयार भएको दृश्य बिम्बमा राजेन्द्र सुवेदी नामक वृत्तचित्रसमेत सार्वजनिक भएको छ। वृत्तचित्रमा सुवेदीको जीवनयात्रालाई समेटिएको छ।