• २० चैत २०८१, बुधबार

कलासम्बन्धी कार्यशाला

blog

मकवानपुर, चैत १९ गते । मकवानपुरको थाहा नगरपालिकामा अभिनय कलासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको सञ्चार रजिस्ट्रारको कार्यालय हेटौँडाको आयोजनामा भएको तीनदिने अभिनय कलासम्बन्धी कार्यशालामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरेशचन्द्र लामिछानेले नेपाली संस्कृति र कलालाई पर्यटनसँग जोड्दै आयआर्जनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणलाई जोड दिँदै आएको भन्दै मौलिक चलचित्र प्रवर्धनमा सहयोग गर्ने नीति लिएको बताउनुभयो ।

२५ जनाको सहभागिता रहेको कार्यशालामा कलाकार प्रभाकरदेव शर्मा र भोला सापकोटाले प्रशिक्षण दिनुभएको थियो । रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले समापन गर्नुभएको प्रशिक्षण कार्यक्रममा थाहा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, चलचित्रकर्मी सुनील पाण्डे, थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानलगायतको सहभागिता रहेको थियो । सो अवसरमा थाहा फिल्म फेस्टिभल संयोजक प्रमोदकृष्ण जोशीले चलचित्र निर्माणका निर्देशन, भिडियोग्राफार स्क्रिप्ट लेखन तालिम गरिएको भन्दै मुलाबारी चौरमा फिल्म सिटी निर्माणको अवलोकन पनि गरिएको बताउनुभयो ।