• २० चैत २०८१, बुधबार

‘पूर्व राजाले माला लगाएर जनताको घर जलाउन मान्छे पठाए’

blog

नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराई संसद बैठकमा धारणा राख्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १८ गते । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भङ्ग गरेको भन्दै उहाँलाई दिएको सेवा सुविधा कटौती गर्नेबारे सोच्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पूर्वराजा शाहलाई सरकार पूर्व राष्ट्राध्यक्षको हिसाबले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भङ्ग गर्नुभयो । आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु, सम्झौता भङ्ग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन ? म सरकरालाई सोध्न चाहन्छु । तीनकुनेमा ताण्डव नृत्य नचाउन पूर्व राजाले पठाएको उहाँले टिप्पणी गर्नुभयो । 

“म फेरि भन्छु, निर्मल निवासबाट लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो । तपाईको सम्झौता भङ्ग भयो । त्यसैले तपाईलाई दिइएको सेवासुविधा के हुन्छ ? सरकारले जवाफ दिनुपर्छ” उहाँले भन्नुभयो । उहाँले पृथ्वीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताउनुभयो ।