• २० चैत २०८१, बुधबार

नेतन्याहुद्वारा कानुनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त

blog

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

जेरुसेलम, चैत १८ गते । सर्वोच्च अदालतले वर्तमान प्रमुखको बर्खास्तीलाई रोकेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व नौसेना कमान्डर एली शर्भितलाई आन्तरिक सुरक्षा निकायको प्रमुखका रूपमा नियुक्त गर्नुभएको उहाँको कार्यालयले सोमबार जनाएको छ ।

निकायको प्रमुखमा ‘निरन्तर विश्वासको कमी’ भएको भन्दै नेतन्याहुले मार्च २१ मा वर्तमान शिन बेट प्रमुख रोनेन बारलाई हटाउने कदम चाल्नुभएको थियो ।

तर इजरायलको विपक्षी दल र एक गैर–सरकारी संस्थाद्वारा दायर निवेदनपछि सर्वोच्च अदालतले बारको बर्खास्तीलाई निलम्बन गरेको थियो ।

“सात योग्य उम्मेदवारसँग गहन अन्तर्वार्ता गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलका पूर्व नौसेना कमान्डर, भाइस एडमिरल एली शर्भितलाई अर्को आइएसए (शिन बेट) को निर्देशकका रूपमा नियुक्त गर्ने निर्णय गर्नुभएको छ”, उहाँको कार्यालयले एक वक्तव्यमा भनेको छ ।

बारको बर्खास्तीमा सर्वोच्च अदालतको फैसला अझै बाँकी रहेकोले शर्भितले कसरी र कहिले औपचारिक रूपमा निकायको नेतृत्व ग्रहण गर्ने हो भन्ने अझै अस्पष्ट छ ।

नेतन्याहुको कार्यालयले शर्भितले सैनिकमा ३६ वर्ष सेवा गर्नुभएको र यसमा पाँच वर्ष नौसेना कमान्डरको रूपमा रहनुभएको बताएको छ ।

“त्यस पदमा उहाँले क्षेत्रीय जलको समुद्री रक्षाको बल निर्माणको नेतृत्व गर्नुभयो र हमास, हिज्बुल्लाह र इरानविरुद्ध जटिल अभियानहरू सञ्चालन गर्नुभयो”, वक्तव्यमा उल्लेख छ । आफ्नो प्रारम्भिक फैसलामा सर्वोच्च अदालतले अपीलहरू अप्रिल ८ अघि पेश नभएसम्म यो निलम्बन जारी रहने भनेको थियो ।

“अदालतमा कानुनी प्रक्रिया चलिरहेको समयमै उहाँलाई पदका लागि उम्मेदवारहरूको अन्तर्वार्ता लिन सर्वोच्च अदालतले अनुमति दिएको हुँदा कुराहरू समानान्तर रूपमा अघि बढिरहेका छन्”, यस विषयका एक कानुनी विशेषज्ञले नाम उल्लेख नगर्ने शर्तमा भने, “बर्खास्ती (बारको) कति कानुनी छ भन्ने प्रश्न अझै सर्वोच्च अदालतमा विचाराधीन छ र यो अझै अदालतद्वारा रद्द हुन सक्छ ।”

नेतन्याहुले अर्को शिन बेट प्रमुख छनोट गरेर ‘जमिनमा तथ्यहरू स्थापित गरिरहनुभएको’ विशेषज्ञले बताए ।  “यो अदालतलाई प्रभावित पार्ने प्रयास हुन सक्छ”, उनले भने । रासस/एएफपी