• २० चैत २०८१, बुधबार

चार यात्रु लिएर रेसुङ्गाबाट फर्कियो जहाज

blog

रेसुङ्गा विमानस्थलमा नेपाल एयरलायन्सको विमानले यात्रु ओराल्दै । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, चैत १८ गते । जहाज मर्मतका कारण साढे तीन महिनादेखि अवरुद्ध रेसुङ्गा विमानस्थलको हवाई उडान सुरु भएको छ । रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्दैआएको थियो । 

जहाज मर्मतका कारण गत पुस ४ गतेपछि उडान भएको थिएन् । पुनः सोमबार १४ जना यात्रुसहित नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट आएर चार यात्रु लिएर फर्किएको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिनुभयो । 

आउने बिहीबार अर्को उडान हुने बताइएको छ । अहिलेलाई एक दिनको तालिका बने पनि हप्तामा दुई दिन उडानको योजना बनिरहेको थापाले बताउनुभयो । बिहान ६ : १५ मा काठमाडौबाट र ७ : १५ मा रेसुङ्गा विमानस्थलबाट उडान हुने विमानस्थल प्रमुख थापाले बताउनुभयो । 

साताको चार दिनसम्म उडान अनुमति पाएको एयरलाइन्सले जहाज अभावका कारण सातामा एक दिन मात्र उडान गर्ने अवस्था रहेको छ । गुल्मीको सिमीचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा २०७५ साल जेठ २५ गते तारा एयरको जहाजले कच्ची धावनमार्गमा सफलतापूर्वक उडान गरेको थियो । 

तारा एयरकै जहाजले २०७९ पुस २४ गते ‘प्रुभिङ फ्लाइट’ गरेको थियो । २०८० वैशाख १५ गतेबाट नेपाल एयरलायन्सको जहाजले परीक्षण उडान गरेको थियो । काठमाडौँ–सिमीचौर करिब ५० मिनेटको उडान दूरी रहेको छ । काठमाडौँबाट रेसुङ्गा सात हजार ५०० रुपियाँ र रेसुङ्गा विमानस्थलबाट काठमाडौँ सात हजार ३०० रुपियाँ हवाई भाडा रहेको एयरलाइन्सले जनाएको छ ।