राममणि दाहाल
मकवानपुर, चैत १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले काठमाडौंको तीनकुनेमा पत्रकारको हत्या र सञ्चारगृहमाथि गरिएको आक्रमणको घटनाको भर्त्सना गर्नुभएको छ ।
उहाँले पूर्व राजावादी पक्षमा भएको प्रदर्शनका क्रममा व्यक्तिगत सम्पत्ति लुटपाट गर्ने र हिंसात्मक गतिविधि स्वीकार्य नभएको बताउनुभयो ।
पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणको घटनामा संलग्न भएकालाई कारबाही गर्न माग गर्दै पत्रकारहरुले गरेको प्रदर्शनको तेस्रो दिन नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको सोमबार हेटौँडामा ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामाले सो कुरा बताउनुभएको हो ।
उहाँले पूर्व राजावादीहरुले आन्दोलनको क्रममा गरेको हिंसात्मक गतिविधिका कारण एक पत्रकारको जलेर मृत्यु भएको र कतिपय पत्रकार घाइते भएको भन्दै सो क्रममा निजी सम्पत्तिमाथि क्षति पु¥याएका, सार्वजनिक तथा निजी सम्पत्ति लुटपाट गर्ने कार्यको भर्त्सना गर्नुभयो ।
उक्त घटनामा मृत्यु भएका पत्रकारप्रति हार्दिक श्रद्धाञ्जलि र परिवारजनमा हार्दिक समवेदना व्यक्त व्यक्त गर्दछौँ साथै उक्त घटनामा घाइतेका प्रति बागमती प्रदेश सरकार शिघ्रस्वास्थ्य लाभको कामना गर्दछ मुख्यमन्त्री लामाले भन्नुभयो, ‘‘जुन ढङ्गबाट आन्दोलनका नाममा हिंसात्मक घटना गराइयो घोर भत्र्सना गर्दछौँ र उक्त कार्यप्रति बागमती प्रदेश सरकार आपत्ति प्रकट गर्दछ ।’’
उहाँले अगाडि भन्नुभयो, ‘‘हिंसात्मक गतिविघि र पत्रकारमाथि आक्रमण गरिएको प्रत्यक्ष रुपमा सबैले देखेका छन् यो घटनाबाट हामी स्तब्ध भएका छौँ ।’’
उहाँले आन्दोलनका नाममा यस्ता किसिमका कार्य नगर्न पूर्व राजावादीहरुलाई आग्रह गर्दै पत्रकारहरुको मागप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ र उक्त मागहरु पूरा गराउन प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।
पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईँले मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।
यस्तै, नेपाल पत्रकार महासंघ मकवानपुरले पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बुझाउनुभएको ध्यानाकर्षण पत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पत्रकारहरुलाई सुरक्षाका विधि अपनाएर काम गर्न आग्रह गर्नुभयो ।
पत्रकार महासङ्घले पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आक्रमणको घटनाको छानबिन गरी कारबाही गर्न माग गर्दै आन्दोलनरत छ ।