अविनाश चौधरी
धनगढी, चैत १८ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको महत्वपूर्ण इद (इद–उल–फित्र) आपसी सद्भाव, भाइचारा र पारिवारिक मेलमिलापको पर्व रहेको बताउनुभएको छ ।
इद पर्वको अवसरमा आज देश विदेशमा रहनूभएका सबैलाई शुभकामना दिनुहुँदै उहाँले यो खुशी र हर्षोल्लासको पर्व रहेको बताउनुभएको हो । प्रदेश प्रमुख मियाँले इस्लाम धर्मावलम्वीहरुले इद–उल–फित्रलाई रिस, राग, द्वेष बिर्सेर हर्षोल्लासपूर्वक मनाउने गरेको उल्लेख गर्नुभयो ।
पर्वले राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा दिने गरेको प्रदेश प्रमुख मियाँको भनाइ छ । उहाँले इदले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, समझदारी, समन्वय, मेलमिलाप एवम् भाइचारको भावना बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।
इस्लाम धर्मावलम्वीको महान पर्व इद–उल–फित्र पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्ने गर्दछ । औंसीपछिको पहिलो चन्द्रमा यो पर्व निर्धारणमा एकदम महत्वपूर्ण हुने गरेको जनाइएको छ । त्यसकारण पनि इस्लामिक रीतिअनुसार रमजानको अन्तिम दिन साँझमा सबैले चन्द्रमा हेर्ने गरेका जनाइएको छ ।
जब हिजल अर्थात अर्ध चन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तबमात्र रमजान महिनाको कठीन व्रतको समापन र इद उल फित्र पर्वको प्रारम्भ हुनेगरेको शुभकामना सन्देशमा उल्लेख छ ।