ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १८ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति योजना सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।
योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी तीन करोड १९ लाख रुपियाँमा विकेश दुप्चेश्वर सुभम जेभीसँग ठेक्क सम्झौता गरेको कार्यालयका इन्जिनियर विरबल सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेनी नगरपालिका ८ कालीपुलस्थित कालीगण्डकी पक्की मोटरेबल पुलदेखि अगाडि नौ सय मिटर दूरीसम्म ५ देखि ६ मिटर चौढाईमा नालीसहित सडक ढलान गरिने छ । ठेक्का सम्झौता गरी निर्माण व्यावसायी कार्यस्थलमा परिचालन भएको उहाँले बताउनुभयो ।
नेपाल सरकारले अगाडि बढाएको दस वटा नमूना नगरपालिका कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले बेनी रिङरोड स्तरोन्नति योजना प्रस्ताव गरे अनुसार बजेट विनियोजन भएर योजना अघि बढेको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
नगर प्रमुख सुरत केसीले भन्नुभयो, "रिङरोड स्तरोन्नति भएपछि ठुला सवारीसाधनलाई रिङरोडबाट आवतजावत गर्न सहज हु्ने छ । अहिले रिङरोड हिँउदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे भएर सास्ती भएको छ । रिङरोडबाट उडेको धुलो बजार सम्म आइपुग्ने गरेको छ । यो वर्षको योजनाले काली पुलदेखि जिल्ला प्रहरी कार्यालय सम्म करिब नौ सय मिटर सडक ढलान हुन्छ । रिङरोडलाई सम्पन्न गर्न आगामी वर्ष पनि बजेट माग गर्ने नगरको योजना छ ।"
उपकरण र मजदुर परिचालन गरी योजना सम्झौता मिति भित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी काम थालिएको निर्माण व्यावसायी सुवासचन्द्र कार्कीले बताउनुभयो ।
रिङरोड स्तरोन्नति भएपछि रिङरोडबाट उडेको धुलो बजार भित्र आउने समस्या हट्नुका साथै बजार भित्रको सडकमा सवारीसाधन जाम हुने पनि समस्या पनि हट्ने बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो।
रिङरोड स्तरोन्नति निर्माण सम्पन्न भएपछि सडक छेउछाउमा फूलहरू रोप्ने र विद्युतीकरण गरेर सौन्दर्यीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।