• १९ चैत २०८१, मङ्गलबार

सन्चोको उत्पादन अन्योल

blog

शून्यबाट नै थाल्नु पर्छ : महाप्रबन्धक यादव

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १८ गते । काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँ रुपियाँको सामान नष्ट भएको छ । राजावादी समर्थकले गत शुक्रबार गरेको तोडफोडका कारण कम्पनीको उत्पादन बन्द भएको हो । 

कम्पनीका महाप्रबन्धक सङ्गीता यादवले कार्यालयको भवन, चार वटा गाडी, १४ वटा मोटरसाइकलका साथै ठुलो परिणाममा औषधीसमेत नष्ट भएको जानकारी दिनुभयो । कम्पनीको मुख्य भवन नै पूर्ण रूपमा क्षति हुनका साथै कम्पनीमा रहेको औषधी जलेर नष्ट रहेकाले कति क्षति भयो विवरण सङ्कलनकै क्रममा रहेको उहाँले जानकारी दिनुभयो । 

तोडफोडका कारण कम्पनीको उत्पादन बन्द भएको जनाउँदै उहाँले भन्नुभयो, “कहिलेदेखि सञ्चालन हुने भन्ने पनि अन्योलमै छ । यसबारे माथिल्लो निकायलाई समेत जानकारी गराएका छौँ ।” 

“तोडफोड र आगजनीका कारण कम्पनीको उत्पादन गर्ने प्रणाली नै बिथोलियो,” उहाँले भन्नुभयो, “पुनः औषधीजन्य उत्पादन सुरु गर्न फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्था आएको छ ।” कम्पनीको भौतिक सम्पत्ति क्षति हुनुका साथै आन्दोलनकारीले कर्मचारीलाई समेत दुव्र्यवहार गरेको उहाँको भनाइ छ । कम्पनीका अनुसार आन्दोलनकारीले कारखाना प्लान्ट, कच्चा पदार्थ स्टोरेज कोठा, प्याकेजिङ गर्ने कोठा, उत्पादित उत्पादन राख्ने कोठालगायतमा प्रवेश गरी ढुङ्गामुढाले तोडफोड गरी आगजनी गरेका थिए । आगजनीका कारण कार्यालय हाताभित्र रहेका सानादेखि ठुला रुख बिरुवासमेत जलेर नष्ट भएका छन् ।

प्लान्टसहित, कच्चा पदार्थ, प्याकेजिङ गर्ने बोतल, बट्टा र प्याकेटसमेत जलेका कारण तत्कालै उत्पादन गर्न सम्भव नभएको कम्पनीले जनाएको छ । कम्पनीले पछिल्लो समयमा विविधीकरण गर्दै १० र पाँच एमएलको सन्चोबाहेक सन्चो बाम, सन्चो शिलाजित, सन्चो जटा हेयर आयल, सन्चो पेन रिलिफ आयल, सन्चो ह्यान्ड स्यानिटाइजर, पाल्मारोसा आयललगायत उत्पादन गर्दै आएको थियो ।

यस्तै लेमनग्रास आयल, टिमुर आयल, इयुकाल्पटस आयल, मेन्था आयल, तेजपात आयल, च्मोमाइल आयल, सिट्रोनेला आयल, फ्रेन्च वेसिल आयल, जटामसी आयल र सन्चो मह उत्पादन गर्दै आएको थियो । अहिले सन्चो शुद्ध टिमुर बजारमा ल्याउने तयारी भइरहेको थियो । 

कम्पनीबाट उत्पादन हुँदै आएको सन्चो अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुने गरेको कम्पनीले जनाएको छ । स्थानीय जडीबुटी प्रयोग गरेर कम्पनीले विभिन्न प्रकारका सामान उत्पादन गर्दै आएको छ । कम्पनी पछिल्लो समयमा पाँच करोड रुपियाँको लगानीमा अटोमेसन प्रणालीमा गएसँगै मल्टिपल प्याकेजिङ प्रणालीलाई अङ्गीकार गरी शाखा र बजार विस्तारमा लागेको थियो ।