काठमाडौँ, चैत १६ गते । नागरिकको भूमिकामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा प्रतिगमन खोजेकाहरूले शुक्रबार अराजक शैलीको प्रदर्शन गर्दै आगजनी र लुटपाट मच्चाएका छन् । अराजनीतिक शैलीमा उत्रिँदै सरकारले तोकेको सीमा तोडेर प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति, व्यक्तिका घर, गाडीदेखि पसलमा दिनदहाडै लुटपाट र आगजनी गरेका हुन् ।
प्रदर्शन हुने विषय एक साताअघि नै तय भएको थियो । सरकारले तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन र कोणसभा गर्न अनुमति दिएको थियो तर प्रदर्शन र कोणसभा सुरु भएपछि सोचेजस्तो स्थिति रहेन । मेडिकल माफियाको पगरी पाएका राजसंस्था पक्षधर राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले अपशब्द बोल्दै प्रहरीमाथि नै कार कुदाउने शैलीमा निषेधित क्षेत्र तोडेर अघि बढेपछि प्रदर्शन अनियन्त्रित भयो ।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा हरेक नागरिकले आफ्ना फरक विचार राख्न पाउँछन् तर तोकिएको सीमाभित्र रहेर । मेडिकल व्यवसायी प्रसाईंले गणतान्त्रिक व्यवस्थाले दिएको अधिकारको दुरुपयोग गर्दै अराजकता निम्त्याउने प्रयास गरेको प्रस्ट भएको छ ।
राजनीतिक विश्लेषक प्राडा लोकराज बरालले राजावादी भनिएको प्रदर्शनमा केवल हुलदङ्गा गर्ने जमात ल्याएर अराजकतालाई प्रश्रय दिने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “२००७ पछि बिपी कोइराला गृहमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला गोर्खा दल थियो, त्यो दलले भाँडभैलो मच्चाउने गथ्र्यो । अरू राजनीतिक मुद्दा केही छैन । अहिले दुर्गा प्रसाईंको नेतृत्वको प्रदर्शनका सहभागीले पनि भाँडभैलो मच्चाउने, आगजनी गर्ने, अर्काको घरमा ढुङ्गा हान्ने, गाडी जलाउने जस्ता काम गरेको छ । यो कुनै राजनीतिक मुद्दाबाट प्रेरित आन्दोलन होइन ।”
गणतन्त्रवादीको प्रदर्शनबाट सिक्नु
प्राडा बरालले शुव्रmबारै पूर्वप्रधानमन्त्रीद्वय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेता सहभागी समाजवादी मोर्चाको प्रदर्शन र जनसभाले राजावादीको प्रदर्शनलाई जवाफ दिइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गणतन्त्रको पक्षमा अर्को प्रदर्शन पनि देखियो, झन् धेरै नागरिक सहभागी थिए । त्यसले नै जनमत लोकतन्त्र, गणतन्त्रको पक्षमा छ भन्ने देखाउँछ । यस्तो घटना भइरहन्छन् तर उत्तेजित पारेर, मान्छेको ज्यान जाने परिस्थिति बनाएर अराजकता निम्त्याउने परिस्थिति बनाउन खोजेको हो । सरकारले आवश्यक कदम चाल्नु पर्छ ।”
उहाँले प्रसाईंको प्रदर्शन प्रायोजित र धेरै ठुलो अराजकता निम्त्याउने गरी तयारी भएको देखिने बताउँदै यस्तो खालको उद्दण्ड प्रदर्शनले राजसंस्था पक्षधरप्रति समर्थन घट्ने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “राजावादीको समूहमै विभाजन छ । भृकुटीमण्डपमै कम्युनिस्ट पार्टीसम्बन्ध समाजवादी मोर्चाको झन् ठुलो प्रदर्शन देखियो । संयमित र
राम्रो भयो, त्यसले पनि राजनीतिक व्यक्ति र अराजनीतिक व्यक्तिको प्रदर्शनको फरक देखिन्छ । साथै राजावादीको प्रदर्शन प्रायोजित थियो भन्ने कुरा यसले पुष्टि गर्छ ।”
यही हो राजतन्त्र फर्किने बाटो ?
प्राडा बरालसँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि संवैधानिक राजतन्त्र फर्काउने नारा दिएर भएको प्रदर्शनले निम्त्याएको अराजकता क्षम्य नहुने बताउनुभयो । प्राडा बरालले भन्नुभयो, “दुर्गा प्रसार्इं राजनीतिक मान्छे होइन । प्रदर्शनबारे जानकारी हुँदा पनि राप्रपाका नेता घरमै बसे । दुर्गा प्रसाईंको स्वभाव उग्र, उत्तेजित बनाउने खालको छ । उत्ताउलो कुरा गर्ने, कहिले माओवादी, कहिले एमाले हुने, अहिले राजावादी भएका छन् । अनि प्रसार्इंले ल्याएका मान्छे पनि उस्तै रहेछ भन्ने यो प्रदर्शनले पुष्टि गरेको छ ।” महामन्त्री शर्माले निर्दोष व्यक्तिको घरमा आगो, मिडियामा आव्रmमण प्रयास, सपिङ मलमा तोडफोड र पार्टी कार्यालयमा आगजनी गर्नु नै ‘संवैधानिक राजा’ फर्किने बाटो हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “अराजक मार्गबाट ‘अनुदार राज’ फिर्ताको मोह त्याग्न पूर्वराजालाई आग्रह छ । नागरिकले बनाएको संविधानभित्रैबाट हामी असन्तुष्टिको हल खोज्ने छौँ ।”
कारबाही गर्नु पर्छ
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल र कांग्रेस नेता मीनबहादुर विश्वकर्माले अभियन्ता प्रसाईंको प्रदर्शनमा भएको आगजनी र तोडफोडको अगुवाइ गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । तर प्रदर्शनको अगुवाइ गर्नेमध्येका एक राष्ट्रिय प्रजातन्त्र पार्टीका महासचिव डा. धवलशमशेर राणाले सरकारले नै प्रदर्शनलाई उत्तेजित बनाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जाँदा जाँदै गोली चल्यो । सरकारले प्रदर्शनकारीलाई उत्तेजित बनायो । त्यसैले घटना भयो । प्रसाईंको उद्दण्डता होइन । सुरक्षा निकायबाटै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग भयो ।” माओवादी उपाध्यक्ष भुसालले पूर्वराजा, राजसंस्था पक्षधर र पूर्वपञ्चको अराजक प्रदर्शन भएको बताउँदै तत्काल कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिकको सम्पत्तिको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु पर्छ । सरकारले वातावरण बनाउनु पर्छ । निरङ्कुश शासनको वरिपरि बसेर खाइपाइ आएकाले मौका छोपेका छन् । जनस्तरबाटै यसको प्रतिवाद गर्नु पर्छ ।” कांग्रेस नेता विश्वकर्माले लोकतन्त्रमा आफ्नो पक्षमा समर्थन माग्न पाइने प्रस्ट पार्दै सरकारले दिएको स्थानमा जुलुस र आमसभा नगरेर निषेधाज्ञा तोड्ने र सुरक्षाकर्मीमाथि आव्रmमण भएका कारण स्थिति नियन्त्रणबाहिर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा आगजनी गर्ने, निजी गाडीमा तोडफोड गर्ने र पसल लुट्ने गरेको हुनाले यो राजनीतिक होइन, नितान्त आपराधिक घटना हो । यो घटना भत्सर्ना गर्न योग्य छ । सरकारले आपराधिक व्रिmयाकलापमा संलग्नलाई कारबाही गर्नु पर्छ ।”