काठमाडौँ, चैत १५ गते। गृह मन्त्रालयले पूर्व राजाका समर्थकद्वारा आयोजित प्रदर्शनको क्रममा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास भएको बताउनु भएको छ।
निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनमाथि भएको तोडफोड, आगजनीका अमानवीय एवम् अमर्यादित घटनाहरु गैरकानुनी र घोरभर्त्सनायोग्य रहेको मन्त्रालयले जनाएको छ।
यस्ता हिंसात्मक एवम् आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयम् नै पूर्ण जिम्मेवार रहेको समेत मन्त्रालयले बताएको छ।
मन्त्रालयले शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवम् अराजनीतिक खालका गतिविधिबाट कोही कसैको भलाइ नहुने बताएको छ।