• १८ चैत २०८१, सोमबार

किसानलाई गोलासहितको माहुरी घार वितरण

blog

धुर्कोट गाउँपालिका किसानलाई गोलासहितका माहुरी घार वितरण । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा, चैत १५ गते । गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको हो । 

धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनबिकास केन्द्रद्वारा कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सञ्चालनमा रहेको छ । किसान र परियोजनाको ५०–५० प्रतिशत लगानी साझेदारीमा माहुरी घार वितरण गरिएको कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाका संयोजक भरत भण्डारीले जानकारी दिनुभयो । 

माहुरी पालनका लागि पाइलेटिङको रुपमा माहुरी घार बितरण गरिएको भण्डारीले बताउनुभयो । उहाँले गाउँबाट बसाइँसराई कम गर्ने र युवाहरुको बिदेश पलाएन न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । अरु व्यावसायको तुलनामा माहुरीलाई स्याहार–सुसार कम गर्नुपर्ने भएकाले गोलासहितको माहुरी बितरण गरिएको हो । 

माहुरीको गोलासहितको प्रतिघार नौ हजार रहेको छ । धुर्कोट गाउँपालिका वडा १ देखि ६ सम्म सात–सात वटा र वडा ७ मा आठ गरेर ५० वटा गोलासहितको माहुरी घार बितरण गरिएको परियोजनाले जनाएको छ । धुर्कोट गाउँपालिका –१ का टोपबहादुर कुवंरले आफुहरुलाई घारले ठुलो राहत भएको बताउनुभयो । 

उहाँले पहिलो पटक माहुरी पालन गर्दै हुनुहुन्छ । धुर्कोट गाउँपालिका –३ की मानकुमारी श्रीसले गाउँमै व्यावसायिक माहुरी पालन गर्नुहुन्छ । पाल्पाबाट आएको माहुरीको पनि अनुभवसहित व्यावसायलाई थप टेवा दिन माहुरी घारको माग गरेको बताउनुभयो ।