• १८ चैत २०८१, सोमबार

पशुपालन व्यवसाय प्रवर्धनका लागि उपकरण वितरण

blog

शंकर केसी

सल्यान, चैत १५ गते । पशुपालका लागि अनुकुल रहेको सल्यानमा पछिल्लो समय स्थानीय तहहरूले यस क्षेत्रमा लगानी बढाउदै आएका छन् । पशुपालन व्यवसायलाई सहज बनाउनका लागि स्थानीय तहहरुले विभिन्न कृषि यन्त्रहरू अनुदानमा वितरण गर्नेगरेका छन् ।

जिल्लाको सल्यानको छत्रेश्वरी गाउँपालिकाले पशुपालन व्यवसायलाइ प्रवर्धन गर्ने उदेश्यले किसानहरुलाइ ५० प्रतिशत अनुदानमा आधुनिक कृषि यन्त्र वितरण गरेको छ । 

समूह, फर्म तथा सहकारीमा आवद्ध किसानहरुलाइ शुक्रबार कृषि यान्त्रिकरण उपकरण वितरण गरिएको हो । १० वटा फर्म, समूह र सहकारीलाइ शुक्तबार कृषि यन्त्र हस्तान्तरण गरिएको पशु विकास शाखा प्रमुख डाक्टर रुकेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार करिव छ लाख रुपियाँ बराबरका पाँच थान च्याप कटर, तीन थान मिनि टिलर, तीन थान ब्रस कटर, १७ थान प्लास्टिक फिडर र एक थान पानी मोटर वितरण गरिएको हो ।

कृषि यन्त्र हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन वृद्धि हुने र कृषकको मेहनत बचत हुने भएकाले यस्ता कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले किसानहरूको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

किसानहरुको माग धेरै भएपनी सिमित श्रोत साधन भएका कारण व्यवसायीक रुपमा अघि बढ्न अग्रसर किसानहरुलाइ छनौट गरिएको उहाँको भनाइ छ ।