काठमाडौँ, चतै १५ गते । काठमाडौँको तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।
निषेधाज्ञा अवधिवर आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।
तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ । प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।