काठमाडौँ, चैत १५ गते । संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गतेको बैठकमा सम्बोधन गर्नुहुने भएको छ
शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रष्पिक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बिचको छलफलबाट यो सहमति जुटेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो । बर्खास्तीसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पार्दै आएका छन् ।
उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिनुभएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् । सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद् अवरुद्ध पार्दै आएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रूपमा अघि बढ्ने सहमति भएको बताउनुभयो । उहाँले प्रतिपक्षी दलहरूको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरूले आनाकानी गरेको जानकारी दिनुभयो ।
उहाँले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू १७ गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने भएपनि प्रतिपक्ष दलहरूको अवरोधका कारण अहिलेसम्म अड्किएको बताउनुभयो ।