सन्ताेष सुबेदी
कास्की, चैत १५ गते । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स प्रमुख जुनयान र उनकी सेक्रेटरी लीशिन बिचपोखरामा भेटवार्ता भएको छ ।
भेटमा सिचुवान एयरलाइन्सले हालै सुरु गरेको पोखरा–छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवर्धनमा ऐतिहासिक उपलब्धी भएको सम्बन्धमा कुराकानी भएको छ । यसका साथै चीन सरकारले यस उडानलाई विशेष प्राथमिकता दिएको हुँदा यसको दीर्घकालीन सञ्चालनबारे गहन छलफल गरिएको थियो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा–छेन्दु चार्टर उडानले नेपालको पर्यटन मात्र होइन, नेपाल–चीन व्यापारिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्याइने अपेक्षा गरिएको बताउनुभयो । उहाँले चिनियाँ पर्यटकहरू पोखरामा मात्र घुम्न आउने नभएर, होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन, र स्थानीय उत्पादनमा लगानी गर्ने सम्भावना पनि रहेको विश्वास व्यक्त गर्नुभयो ।
नेपालका पर्यटन व्यावसायीहरूले अब चिनियाँ पर्यटकहरूलाई लक्षित गर्दै नयाँ प्याकेज, प्रचार–प्रसार, र लगानीका योजनाहरू बनाउनुपर्ने देखिएको मन्त्री बस्यालको भनाइ छ ।
सिटीएस प्रमुख यानले निजीक्षेत्रको ठुलो चासो देखिएकाले पोखरा–छेन्दु उडानलाई नियमित बनाउन सकिने बताउनुभयो । उहाँका अनुसार चीन सरकारले पोखरालाई पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्ने योजना बनाएको छ । "चिनियाँ पर्यटक छोटो दूरीका गन्तव्य रोज्छन् । थाइल्यान्ड, हङकङ, मलेसियाजस्ता ठाउँहरू चीनमा निकै लोकप्रिय छन् । पोखरा पनि अब सोही सूचीमा राख्ने तयारी भइरहेको छ," यानले भन्नुभयो, "सिचुवानप्रान्तका पर्यटन व्यावसायीहरूले पोखरालाई चिनियाँ पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन चाहिरहेका छन् ।"
सिचुवान प्रान्तले पोखराका लागि १० वटा चार्टर उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यदियी उडानहरू सफल भए भने भविष्यमा पोखरा–छेन्दु नियमित हवाई सेवा सञ्चालन गर्ने सम्भावना बलियो हुनेछ ।
चीनमा जुन–जुलाई महिनामा विद्यालयहरू बिदा हुने भएकाले परिवारसहित भ्रमण गर्ने प्रवृत्ति बढ्दो छ । पहिलो चार्टर उडानबाट चीन गएका नेपाली पर्यटन व्यावसायी तथा सरकारी प्रतिनिधिहरू पनि फर्किसकेका छन्, जसले थप सम्भावनाबारे अध्ययन गरिरहेका छन् । यो उडानसँगै अब पोखराबाट सिधै चीनको छेन्दु पुग्न सकिने सुविधा भने सुरु भएको छ ।