अर्जुन कार्की
बागलुङ, चैत १५ गते । पछिल्लो समय पहाडी जिल्लाहरूमा आधुनिक हाते ट्याक्टरको माग बढ्दो छ । गाउँ–गाउँमा हाते ट्याक्टर भित्रिएपछि हल गोरु पाल्ने किसानको सङ्ख्या घट्दै गएको हो ।
नेपालका केही स्थानीय तहहरूले हाते ट्याक्टर खरिदका लागि अनुदानको व्यवस्था गरे पनि बागलुङको काठे खोला गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरूप अनुदान दिएको छ ।
गाउँपालिकाले कृषकलाई प्रोत्साहन, स्थानीय गोरुलाई पोषण कार्यक्रम मार्फत चालु आर्थिक वर्ष २०८१-०८२ मा १ सय ८० जना किसानलाई अनुदान प्रदान गरेको छ । गाउँपालिकाका पशुपक्षी सेवा शाखाका प्रमुख होमबहादुर थापा मगरले प्रति हलगोरु वापत पाँच हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको बताउनुभयो ।
किसानहरूलाई प्रोत्साहनका लागि गाउँपालिकाले आवेदन आव्हान गरेको थियो । आवेदनका आधारमा गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर अनुदान प्रदान गरिएको प्रमुख मगरले बताउनुभयो । उहाँले वडा नम्बर १ पालाका ३५ जना, वडा नम्बर २ भीमापोखराका ४२ जना, वडा नम्बर ३ धम्जाका २१, वडा नम्बर ४ तङ्ग्रामका ३३ जना, वडा नम्बर ५ माथिल्लो विहुँका ३४ जना, वडा नम्बर ६ तल्लो विहुँका ८ जना र वडा नम्बर ७ रेशका ७ जना कृषकलाई पाँच हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको जानकारी दिनुभयो । वडा नम्बर ८ लेखानीमा कसैको आवेदन नपरेको उहाँले बताउनुभयो ।
प्रमुख मगरले गत वर्ष लम्पी स्किन रोग फैलिएर कमजोर भएका गोरुहरूलाई पोषण दिनको लागि कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । कृषिमा आधुनिक हाते ट्याक्टर भित्रिँदा वायुप्रदुषण बढ्दै गएकोले त्यसलाई न्यूनीकरणका लागि गोरु पाल्न किसानलाई प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिएको प्रमुख मगरको भनाइ छ ।
"आधुनिक हाते ट्याक्टर मेसिनमा प्रयोग हुने पेट्रोलबाट हरितगृह ग्यास निस्किन्छ । उक्त ग्यासको कारण वायुप्रदुषण बढ्दो छ," प्रमुख मगरले भन्नुभयो, "आधुनिक हलोको कारण गोरु पाल्ने प्रचलन घट्दैछ । अब वायुप्रदुषण रोक्नका लागि र रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोग मार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान प्रदान गरिएको हो ।"
गाउँपालिकाले आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति बनाएको छ । "कृषिमा आधुनिक हाते ट्याक्टर भित्रिँदा स्थानीय स्रोत साधनको प्रयोग नै हरायो," प्रमुख मगरले भन्नुभयो, "गोरु पाल्ने संकृति घट्दा कृषि बालिका लागि आवश्यक मलमुत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।"
गाईगोरुहरू नेपाली संस्कृतिसँग जोडिएको भए पनि पछिल्लो समय आधुनिक हलोको कारण स्थानीय गोरुहरू लोप हुन लागेकोले संरक्षण गर्नुपर्ने प्रमुख मगरले बताउनुभयो । "स्थानीय गोरुलाई संरक्षण गर्न गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको हो," मगले भन्नुभयो, "गाईगोरुको संरक्षण भएमा वातावरण संरक्षणमा पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।"
आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा विदेशीने भएकाले गोरु पाल्दा त्यो रोकिने गाउँपालिकाको विश्वास छ । "गोरुको प्रयोगले ढिला होला तर अनुत्पादक हुँदैन," उहाँले भन्नुभयो, "व्यवसायीक किसानलाई भन्दा आफ्नो लागि मात्रै उत्पादन गर्ने किसानका लागि मेसिन भन्दा गोरुको प्रयोग उपलव्धीमुलक हुन्छ ।" पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेहरूको सङ्ख्यामा कमी आउँदा गोरु पाउन समेत कठिन हुने गरेको किसान नरबहादुर खातीले बताउनुभयो ।
यस्तै गाउँपालिकाले बाख्राको नयाँ पकेट स्थापना कार्यक्रम, उत्पादनमा आधारित अनुदान कार्यक्रमहरू सञ्चालन गरेको छ । शाखा प्रमुख मगरका अनुसार काठेखोला–७ रेशको साना किसान सहकारीसँग साझेदार गरेर ३१ जना कृषकहरूलाई बाख्राको नयाँ खोर निर्माण, घाँसका बिउ वितरण गर्ने, प्रजननका लागि बाख्राका उन्नत माउ वितरण, तालिम तथा शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।
फर्म यान्त्रिकीकरण अन्तर्गत ४ जना किसानलाई ५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन वितरण र गाउँपालिका भित्रका दुध उत्पादक ३ वटा सहकारी र १ वटा समुहलाई १ लाख लिटर दुधमा प्रतिलिटर साढे २ रुपैयाँ अनुदान प्रदान गरिएको बताउनुभयो । गाउँपालिकाको पशु शाखाको तथ्याङ्कन अनुसार चालु आर्थिक वर्षमा पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत ८४ वटा गाई र भैसीमा कृतिक गर्भाधान गरिएको छ ।