• १८ असार २०८१, मङ्गलबार

राम्रो व्यवहारका भोका छन् ज्येष्ठजन

blog

बाबुराम शर्मा 

चरीकोट, जेठ २१ गते । घरपरिवारको हेलासँगै सरकारले पनि बेवास्ता गरेको दोलखाली ज्येष्ठजनले गुनासो गर्नुभएको छ । सरकारले ज्येष्ठ नागरिकप्रति कानुनमा गरेको व्यवस्था कागजको खोस्टाझैँ हुन पुग्दा सुविधा त छोडौँ तनावलाई पन्छाएर मन बहकाउने ठाउँसम्म पनि नपाएको गुनासो ज्येष्ठ नागरिक दुर्गाप्रसाद उप्रेतीले गर्नुभयो । 

“वृद्ध हुँदै जाँदा बालकझैँ पनि भइँदो रहेछ,” उहाँले भन्नुभयो, “एकोहोरो सोचाइको यो अवस्था कसैले नबुझ्ने रहेछन् । घरपरिवारले यो अवस्था बुझेर व्यवहार गरिदिए तनाव अलि कम हुने थियो । त्यस्तो त पटक्क हुने रहेनछ । रातभरिको तनाव कम गर्न घरबाहिर निस्किए पनि बस्ने ठाउँ नहुँदा झन् तनाव बढ्ने गरेको छ । लोकतान्त्रिक गणतन्त्र आयो ज्येष्ठ नागरिकप्रति अति नै बेवास्ता छ ।” 

“घरबाहिर बस्ने ठाउँसम्मको व्यवस्थाका लागि सरकारलाई हदैसम्म गुहारियो । काने बतास लगाएपछि आफैँ चुप लाग्नुपर्ने रहेछ । भूकम्पले पनि हामीलाई नै दुःख दियो । उहाँले दुखेसो पाख्दै भन्नुभयो, “यहाँको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निर्माण गरिदिएको प्रतीक्षालय पनि भत्किएपछि बिजोग भएको छ । मनका वेदना आदानप्रदान गरी मन बहकाउने थलो नहुँदा सारै चिन्तित छौँ ज्येष्ठजन,” उहाँ भन्नुहुन्छ । आवागमन र स्वास्थ्योपचारमा सहजताका लागि गाउँबाट पनि चरीकोटमा ज्येष्ठजन आउनुभएको छ । 

अर्का ज्येष्ठजन पे्रमबहादुर कार्कीले भन्नुभयो, “सदरमुकाममा त ज्येष्ठजनका लागि बस्ने ठाउँ, शौचालय, पानीको व्यवस्था र मनोरञ्जन गर्ने साधन हुनुपर्ने हो । तब न ज्येष्ठजनप्रतिको सम्मान ठहरिन्छ । कागजमा भएर के गर्नु ? व्यवहारमा भए पो हुन्छ । हामी त राम्रो व्यवहारका भोका छौँ ।” 

उहाँले भन्नुभयो, “सरकारले बनाइदिनुको सट्टा हामीलाई र आउने जानेलाई पनि हुन्छ भनेर सबैको सहयोगमा सातदोबाटोमा बनाइएको पिउने पानीको लाइनसमेत काटिदियो । सामाजिक सुरक्षा भत्ता सञ्चित गरी हामीले पाँच÷पाँच सय र यहाँका केही व्यवसायीको समेतको सहयोग र देउसी खेलेर जम्मा गरेको करिब २१ हजार रुपियाँमा ट्याङ्की राखिएको हो । मर्मतका लागि पनि केही रकम बचाइएको छ । पानीसमेत प्रयोग गर्न पाइएन ।” 

हामी बुवाआमा नभएका टुहुराझैँ बनेका छौँ । ज्येष्ठजनका लागि सहज खालको बस्ने ठाउँ, पिउने पानी र शौचालयको व्यवस्था गरी ज्येष्ठजनप्रति सम्मान देखाइदिन सरकारलाई आग्रह गर्दछौँ । यी सुविधा भए मनोरञ्जनका साधान त हामी आफैँ जुटाउँछौँ । एक पटक यति व्यवस्था भए भाबी ज्येष्ठजनलाई पनि हुने थियो ।