• १८ चैत २०८१, सोमबार

कुवाको पानी क्या छ दामी

blog

धनकुटाको सहिदभूमिस्थित एक कुवामा पानी लिन भेला भएका स्थानीय ।

कविराज घिमिरे 

हिले (धनकुटा), चैत १५ गते । धनकुटाको धनकुटा नगरपालिका–६ स्थित आयुर्वेद अस्पतालमुनि एक कुवा छ । अधिकांश समय यो कुवामा पानी लिन आउनेको भिडभाड देख्न सकिन्छ । धनकुटा गौँडाको रूपमा स्थापना भएदेखि हालसम्म खानेपानीको एक स्रोत हो यो कुवा । 

विसं १९८६ मा स्थापित आयुर्वेद औषधालय परिसरमा रहेकाले यसको नाम डाक्टर कुवा रह्यो । यो कुवालाई अहिले पनि भीमनारायण चोक, सरस्वती चोक तथा सिरानका धेरै व्यक्तिले खानेपानीको स्रोतको रूपमा प्रयोग गर्दै आएको स्थानीय नरेश श्रेष्ठ बताउनु हुन्छ । पहिलेदेखि नै खाँदै आएकाले यो पानी स्वादिलो रहेकाले अन्य पानी खान प्रयोग नगरिने श्रेष्ठ बताउनु हुन्छ । धनकुटा नगरपालिकाले सङ्कलन गरेको तथ्याङ्क अनुसार करिब दुई सय परिवार यो कुवामा पिउने पानीका लागि आश्रित छन् । योबाहेक सो क्षेत्रमा कोठाभाडामा बस्नेहरूले पनि यही कुवा प्रयोग गर्ने गरेका छन् ।

धनकुटा नगरपालिकाकै वडा नम्बर ७  स्थित जिरोप्वाइन्टमा रहेको जिरोप्वाइन्ट कुवामा पनि अधिकांश समय पानी लिन आउने स्थानीयको भिडभाड हुन्छ । जिरोप्वाइन्ट, बसपार्क तथा बजारका अन्य क्षेत्रका गरी करिब दैनिक २५० भन्दा बढी परिवारले यो कुवा प्रयोग गर्दै आएका छन् । नजिकै अर्को कुवा पनि छ । सो कुवालाई कपडा धुन तथा अन्य काममा प्रयोग गरिँदै आएको भए पनि यो कुवालाई भने पानी मिठो भएका कारण खान मात्र प्रयोग गरिँदै आएको स्थानीय उर्गेन शाक्य बताउनु हुन्छ । “यहाँ तल्लो र माथिल्लो गरी दुई कुवा छन् । यो कुवाको पानी मिठो छ । बजारका धरै व्यक्ति यही कुवामा आश्रित छन् । त्यसैले टोल, बस्ती, सङ्गठनले निर्णय नै गरेर यो कुवाको पानी खान मात्र प्रयोग गरिँदै आएको छ,” शाक्य भन्नु हुन्छ । 

नगरपालिकाकै वडा नम्बर ४ देब्रेबासमा मात्रै गणेश धारा, जनकल्याण, वाग्ले कुवा गरी तीन वटा कुवा छन् । यी तीन वटै कुवामा पानी लिन आउने स्थानीयको भिडभाड हुन्छ । नगरपालिकाको वडा नम्बर ५ स्थित बिहीबारे हटियामा अर्को कुवा छ । बिहीबारे हटिया तथा कोप्चे आसपासका बासिन्दाको खानेपानीको मुख्य स्रोत यो कुवा हो । धनकुटा बजार क्षेत्रमा मात्रै तीन दर्जनभन्दा बढी कुवा छन् । यी कुवा अहिले पनि पानी खानकै लागि प्रयोग हुँदै आएका छन्  ।

धनकुटामा घर घरमा धारा नपुग्दासम्म यी कुवा खानेपानीको मुख्य स्रोतका रूपमा प्रयोग हुँदै आएका थिए तर अहिले अवस्था फेरिएको छ । धनकुटा नगरपालिकाको बजार क्षेत्रका सम्पूर्ण घरमा खानेपानीको धारा पुगेको छ । धारामा पानी पनि आउँछ । पानी प्रशोधनका लागि विभिन्न प्रविधिसमेत प्रयोग हुने गरेको छ तर नगर क्षेत्रका अधिकांश बासिन्दा तथा घरभाडामा बस्नेहरू खानेपानीका लागि यी कुवामै भर पर्ने गरेका छन् । 

धनकुटा नगरपालिकाको तथ्याङ्क अनुसार करिब १० प्रतिशत घरधुरी मात्र खानेपानीका लागि कुवामै भर पर्नुपर्ने र ९० प्रतिशत घरमा धारा पुगेको जनाइएको छ तर ५० प्रतिशतभन्दा बढी धनकुटेलीहरूले पिउने पानीका लागि कुवाको पानी प्रयोग गर्दै आएका छन् । घरको धारामा आउने पानी अन्य कामका लागि प्रयोग हुन्छ । खानका लागि भने कुवाकै पानी प्रयोग गर्ने गरिएको धनकुटा नगरपालिका–४ का स्थानीय विनोद सुवेदी बताउनु हुन्छ । प्रविधि प्रयोग गरी सिर्जित गरिएको पानीभन्दा मूलबाट आएको पानी पिउन स्वास्थ्यवर्धक हुने भएकाले कुवाको पानी प्रयोग गर्दै आएको सुवेदीको भनाइ छ । धनकुटाले कुवालाई संस्कृतिकै रूपमा जोगाइरहेको स्थानीय बताउँछन् । 

कुवामा नगरपालिकाको चासो 

यो नगर क्षेत्रमा पानीको स्रोत कुल ४१० रहेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी बताउनु हुन्छ । पिउने पानीका लागि धनकुटेली कुवामै भर परिरहेको पाएपछि धनकुटा नगरपालिकाले समेत कुवा संरक्षण तथा गुणस्तर मापनमा चासो देखाउँदै आएको छ ।  नगरपालिकाले विभिन्न चरणमा गरी पालिकाभित्र रहेका मुहानको पानी परीक्षण गरेको छ । पछिल्लो समय पानीको मूल संरक्षण तथा सरसफाइका लागि इसिमोड, मेटामेटलगायत सङ्घसंस्थासँग मिलेर काम गरिरहेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउनु हुन्छ । 

धनकुटाको सबै खानेपानी मूलमै निर्भर रहेको तथा जमिनमुनिबाट आउने पानी आफैँ छानिएर आउने भएकाले राम्रो हुने धनकुटाका मूल तथा कुवाको पानीको गुणस्तर मापनमा सहभागी हुनुभएका भूगर्भ विज्ञ गुणनिधि पोख्रेल बताउनु हुन्छ । बाहिरी सतहमा आएपछि हुने फोहोरबाहेक जमिनभित्रबाट आउँदा पानीमा नुनको मात्र, तापक्रम, पोटासियम, सल्फर क्लोरिनलगायत २० भन्दा बढी तìवको मापन गर्ने गरिएको छ । ती सबै औसत हुँदा पानी राम्रो मानिन्छ र धनकुटाको प्रायः सबै मूलको पानीमा सबै तìव औसतमा रहेको पोख्रेलको भनाइ छ ।