काठमाडौं, चैत १४ गते । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुई जनाविरुद्ध सेवाग्राहीसँग दुई लाख ५० हजार रुपियाँ घुस लिएको आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिवादी दिनेश लामिछानेको पहिले नै दिनेश दयालु लामिछानेबाट जन्म दर्ता तथा जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा विवरण राखी वडा सचिव लामिछानेले पदीय अधिकारको दुरुपयोग गरेको आरोप लागेको छ ।
एकै व्यक्तिको फरक–फरक दोहोरो जन्मदर्ता समेतका विवरण झुट्टा गलत लिखित तयार गरिदिनका लागि निजले सेवाग्राहीसँग दुई लाख ५० हजार रुपियाँ बैंक खातामा दाखिला गर्न लगाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरु दुवै जनाविरुद्ध कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइ आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।