नवीनराज कुइँकेल
लमजुङ, चैत १४ गते । कहाली लाग्दा र हेर्दै टोपी खस्ने छङ्गाछुर बढेमाका भीरको कापाहरूमा चोयाको डोरीमा झुण्डिएर गर्नुपर्छ, भीरमौरीको सिकार । परापूर्व कालदेखि स्थानीयले यस्तै जोखिम मोलेर मह सिकार गरिरहेका छन् ।
लमजुङका विभिन्न ठाउँका भीर पहरामा हुने भीर महको सिकार सुरक्षित बनाउन सिकारीहरूलाई सुरक्षा सामग्रीको बन्दोबस्त गरिएको छ । मौरी विकास केन्द्र गोदावरी ललितपुरले भिर मौरीको मह सिकार गर्नेलाई सचेतनासहितको तालिम र सुरक्षा सामग्री वितरण गरेको हो ।
मर्स्याङ्दी गाउँपालिका–२ को घनपोखरा र वडा नं. ६ को नाइचे गाउँका सिकारीहरूलाई एक-एक बण्डल आधुनिक डोरीसहितका सामग्री प्रदान गरिएको हो । अझै पनि गाउँघरमा बाँस तथा निगालोको चोयाको डोरी प्रयोग हुने गरेको र त्यो डोरी लामो समय नटिक्ने भएकोले वषौंसम्म खप्ने आधुनिक डोरी सहयोग गरिएको मौरी विकास केन्द्र गोदावरी ललितपुरका प्रमुख तीर्थकुमार श्रेष्ठले बताउनुभयो ।
सोही अवसरमा हिमालयन क्लिफ हनि संस्थाले मह सिकार गर्ने १३ वटा गाउँलाई सुरक्षा सामग्री सहयोग गरेको छ । मह सिकार गर्दा लगाउने टोपी, ज्याकेट पञ्जा र जुत्तालगायतका सामग्री सहयोग गरिएको हिमालयन क्लिफ हनि संस्थाका सञ्चालक सुनिल कंडेल बताउनुभयो । करिब ६० हजार बराबरको सामग्री सहयोग गरेको उहाँले जानकारी गराउनुभयो ।
लमजुङको घनपोखरा, उपल्लो चिप्ला, नाइचे, सिमी, लुदी, टाँप गाउँ, सिउरुङ, भुजुङ, नयाँगाउँ, ताघ्रिङ, तल्लो चिप्ला, तल्लो घनपोखरा र ताँजे गाउँका मह सिकारी टोलीलाई सुरक्षा सामग्री सहयोग गरिएको सो संस्थाले जनाएको छ ।
सुरक्षा सामग्री सहयोग गर्नुअघि भिरमौरीको अवस्था, भिरमौरीको मह सिकार गर्दा अपनाउनु पर्ने सावधानी, सचेतना र तयारीको बारेमा प्रशिक्षण दिइएको मौरी विकास केन्द्र गोदावरी ललितपुरका मौरी विज्ञ एवम् प्रधानाध्यापक रेशमबहादुर थापाले जानकारी दिनुभयो ।
विश्वमा नै विरलै हुने यस प्रकारको मह सिकार लमजुङका घनपोखरा, सिउरुङ, ताघ्रिङ, भुजुङ, दुधपोखरी, बन्सार, ढोडेनी लगायतका स्थानमा वर्षैसाल गरिन्छ । ‘हनी हन्टिङ’ अथार्त मह सिकार पर्यटक आकर्षणको माध्यमका साथै आम्दानी पनि हुँदै गएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताउनुभयो ।