यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), चैत १६ गते । बर्दियामा अवैध रूपमा बोतलमा राखेर बेच्न राखेको दुई सय लिटर पेट्रोल नेपाल प्रहरीले बरामद गरेको छ । बर्दियाको विभिन्न पालिकामा अवैध रूपमा बेच्न राखेको पेट्रोल बरामद गरी नेपाल आयल निगमलाई जिम्मा लगाएको छ ।
खुल्ला रूपमा बिक्री वितरण गर्न राखिएको पेट्रोल खोजबिन गर्ने क्रममा गुलरिया नगरपालिकाबाट ३५ लिटर, मधुवन नगरपालिकाबाट ४५ लिटर, बारबर्दिया नगरपालिकाबाट ३० लिटर र बाँसगढी नगरपालिकाबाट ९० लिटर पेट्रोल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पेट्रोल किराना पसल, फलफूल पसल, चियापसलमा फेला परेको थियो ।
गर्मी बढेसँगै आगलागी घटनाहरू बढ्दै गएको र पेट्रोल बोतलमा राखेर बिक्री वितरण गर्नु जोखिमपूर्ण रहेको भन्दै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताउनुभयो । उहाँले यस पटक सचेत गराएर पेट्रोल नियन्त्रण लिइएको अर्को पटक फेला परेमा कारबाही गर्ने बताउनुभयो । नियन्त्रणमा लिइएको पेट्रोल नेपाल आयल निगमलाई आवश्यक कारबाहीका लागि पठाइएको उहाँले बताउनुभयो ।