चौमाला समाचारदाता
चौमाला (कैलाली), चैत १७ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लाका अधिकांश स्थानीयहरू अहिले अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् । लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने ऐश्वर्य सामुदायिक वनमा अहिले अम्रिसो खेती फस्टाउँदै गएको छ ।
कृष्णपुर नगरपालिका–१, दोमिल्लास्थित चुरे फेदीमा भइरहेको व्यावसायिक अम्रिसो खेती ८१६ जनाको जीविकोपार्जनको माध्यम बनेको छ ।
ऐश्वर्य सामुदायिक वन उपभोक्ता समितिले गत वर्ष ३० लाख रुपियाँको बिक्रीको लक्ष्य लिएको थियो । खेती राम्रो हुँदाहुँदै पनि हात्तीले ठुलो क्षति पुराएको थियो । समितिका अध्यक्ष ईश्वरबहादुर बुढाले अम्रिसो खेतीले समूहलाई आम्दानी र उपभोक्तालाई ज्यालादारीमा रोजगारी दिएको बताउनुभयो । समुहले यस वर्ष अम्रिसोबाट तयारी झाडु बिक्रीबाट १० लाख रुपियाँ खुद नाफा गर्ने लक्ष्य लिएको छ ।सामुदायिक वन उपभोक्ता समितिले एउटा कुचो बनाएबापत १५ रुपियाँसम्म दिने गरेको छ । एक दिनमा एक परिवारले दुईदेखि तीन सय वटा कुचोसमेत तयार पार्ने गरेका छन् । यसरी तयार गरिएको एउटा कुचो ५० देखि ७० रुपियाँको दरले थोक मूल्यमा बिक्री हुने गरेको छ ।समूहले सामुदायिक वनको खुला ठाउँमा अम्रिसो खेती गरेर आम्दानी गर्न सुरु गरेपछि स्थानीयहरू आकर्षित भएका हुन् । थोरै जमिन भएका स्थानीयले पनि अम्रिसोबाट घर खर्च निकाल्ने गरेका छन् । स्थानीयले राजमार्गका बजार र धनगढी/महेन्द्रनगरसम्म कुचो बिक्री गर्छन् ।