हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ),चैत १४ गते । गत वर्ष चीनको 'नेचुङ-लिजी' खुलेसँगै धार्मिक पर्यटनका लागि समेत नाका प्रयोग गर्न पाइने भन्दै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट निकै उत्साहित हुनुहुन्थ्यो ।
वि.स २०८० साल कात्तिक १४ गते नाकाबाट आवतजावत गर्ने उपल्लो मुस्ताङवासीले आर्थिक कारोबारसँगै हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरूको अति पवित्र तिर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि समेत धार्मिक पर्यटकको ओइरो लाग्ने आशा अहिलेसम्म पूरा हुन सकेको छैन ।
नेपालबाट चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा सडक सञ्जालबाट जान सबैभन्दा सजिलो र कम खर्चिलो हुन्छ। मुस्ताङमा रहेको चीनसँगको कोरला नाकाबाट निकै छोटो र सजिलै पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयाे । "कोरला नाकाबाट नेपालका अन्य नाकाबाट भन्दा सहज, छोटो अवधीमै पुग्न सकिन्छ, हामीले यस क्षेत्रको नाकालाई सहज बनाउन सकेमा धार्मिक पर्यटकको चाप बढ्छ," अध्यक्ष विष्टले भन्नुभयो ।
आर्थिक कारोबार र धार्मिक पर्यटकका लागि कोरला नाकालाई हब बनाउन सकिने भए पनि नेपाल सरकारबाट नाकामा आवश्यक पर्ने संरचनासहित जनशक्ती व्यवस्थापनमा चासो नपुगेको अध्यक्ष विष्टको भनाइ छ । पोखरा र काठमाडाैँबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै उपल्लो मुस्ताङ आएर कोराला नाका हुँदै सवारीसाधनको प्रयोग गरी माउन्ट कैलाश पर्वत तथा मानसरोवरसम्म जान सकिन्छ ।
उपल्लो मुस्ताङमा आउने चिनियाँ अधिकारीले आर्थिक कारोबारसँगै माउन्ट कैलाश पर्वत तथा मानसरोवरसम्म जानका लागि समेत सकारात्मक सन्देश दिने गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
आर्थिक कारोबारका लागि नाका सञ्चालनमा ल्याइएपनि नेपाली पक्षबाट भौतिक पूर्वाधार सहित अन्य आवश्यक पहलहरू कमजोर हुदाँ समस्या भइरहेको छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनी हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
मुस्ताङको बाटो हुँदै कैलाश मानसरोवर जान काठमाडौँबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र ४ सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरला बोर्डर पुग्न सकिन्छ । हवाईमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दुरी पार गरेपछि लोमन्थाङ हुँदै करिब साढे ४ घण्टामा नेचुङ पुग्न सकिन्छ ।
नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट ५ सय ८० किलोमिटरको यात्रापछि ६ घण्टामा कैलाश तथा मानसरोवरमा पुग्न सकिन्छ । तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधन समेत आधुनिक भएकाले यात्रा निकै सहज हुने छ ।
जोमसोमबाट उपल्लो मुस्ताङको कोरला नाकासम्म सडक सञ्जालमा पुगेकाहरू एक रात लोमान्थाङमा बिताएर अर्को दिन बिहानै करिब आधाघण्टाको यात्रापछि मुस्ताङ र तिब्वतको नाकामा पुग्न पनि सकिन्छ ।
तिब्वत क्षेत्रमा यातायात र खानाबस्ने महँगो छैन । नेपालीहरू भारतीय मार्ग हुँदै जाँदा एउटै धार्मिक पर्यटकले २ लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरला नाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने भएकाले सङ्घीय सरकारमार्फत पहल भइरहेको मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचनले बताउनुभयो ।
"कैलाश मानसरोवरसम्मका लागि नेचुङ खोल्न सकेमा कोसेढुङ्गा सावित हुने छ,नाकामा संरचना बनाउन निरन्तर दबाब दिइरहेका छौँ ।" प्रतिनिधिसभा सदस्य गौचनले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार दैनिक ४० जना मुस्ताङी व्यापारीले नेचुङमा पुगेर व्यापार गरी फर्किने गरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो । उहाँका अनुसार मुस्ताङवासी बाहेक अहिले अन्य जिल्लाबाट आउने पर्यटकलाई कोरला नाकापारी चिनियाँ भूभागमा आवतजावत गर्ने अनुमति नभएको बताउनुभयो ।
"मुस्ताङका व्यापारी बिहान जानुहुन्छ बेलुकी फर्किनुहुन्छ, अध्यागनम सहज भएपछिको अवस्थालाई अहिले भन्न सकिँदैन," प्रजिअ भुषालले भन्नुभयो । हिन्दु धर्ममा शिवको वासस्थान भनिने कैलाश समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा रहेको छ। कैलाश पर्वतलाई परिक्रमा गर्दा ठुलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहेको छ ।