प्रदिप पन्त
बागलुङ, चैत १४ गते । बागलुङका किसानले बाँझो जमिनमा व्यावसायिक ओखर खेती गर्न सुरु गरेका छन् । खाद्यान्न बाली लगाउँदा उत्पादन कम भएको भन्दै बाँझो जमिनमा किसानले अहिले नगदे बाली लगाउन सुरु गरेका हुन् ।
पाँच वर्षदेखि झाँडी र उत्तिसले भरिएको जमिनलाई उपयोग गरी बागलुङ नगरपालिका, काठे खोला, तमान खोला, निसी खोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाका उपल्लो भेगहरूमा किसानले ओखर खेती गर्न थालेका छन् । ओखर खेतीतर्फ प्रोत्साहन र उत्पादनमा वृद्धि गर्न सरकारी निकायबाट सहयोग हुन थालेपछि किसानहरूले व्यावसायिक खेती गर्न थालेका हुन् ।
समुह, सहकारी र फर्म मार्फत किसानले ओखरको खेती गरेको स्थानीय किसान प्रेमबहादुर खड्काले बताउनुभयो । “खेती गर्न छाडेपछि जमिनमा झाँडी र उत्तिस उम्रिन थालेको थियो, खड्काले भन्नुभयो, अहिले जग्गाको उपयोग गरी व्यावसायिक ओखर खेती गर्न सुरु गरेका छौं ।” बागलुङ नगरपालिका ९ को दुर्लेनी जङ्गलले ढाकिएको जमिनमा अहिले ओखरको खेती गर्न लागिएको अर्का किसान देवबहादुर खड्काले बताउनुभयो ।
किसानले ओखर खेतीका लागि १० लाख रुपियाँसम्म लगानी गरेका छन् । अहिले ओखरका २ हजार बढी बिरुवा हुर्कंदै गरेको र अबको केही वर्षपछि फल दिन सुरु हुने उहाँले बताउनुभयो । बागलुङमा १ सय ५० किसानले व्यावसायीक ओखरको खेती गरेका छन् । जिल्लामा चार सय ४० रोपनी क्षेत्रफलमा ओखर खेतीको विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका नारायण पौडेलले बताउनुभयो ।
जिल्लाको उपल्लो भेगहरूमा छ हजार ५ सय वटा ओखरका बिरुवा लगाइएको छ । चक्ताबन्दी रूपमा व्यावसायिक खेती गर्ने किसानहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १० लाख रुपियाँसम्म अनुदान दिँदै आएको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहले व्यक्तिगत तथा सामुहिक रूपमा ओखर खेती गर्दै आएका किसानलाई बिरुवामा दुई हजार रुपियाँसम्म अनुदानका र प्राविधिक सहयोग समेत हुँदै आएको छ ।