• ७ जेठ २०८१, सोमबार

बाँकेका लागि संघीय सरकारबाट चार अर्ब १५ करोड बजेट विनियोजन

blog

सिराज खान 

नेपालगञ्ज, जेठ २० गते। संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बाँकेका आठ स्थानीय तहलाई चार अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। सरकारले बाँकेका लागि चालु र पूँजीगत गरी ४ अर्ब १५ करोड ७३ हजार रुपियाँ बजेट विनियोजन गरेको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जानकारी दिएको छ। 

सरकारले बाँकेका लागि चालु आर्थिक वर्ष २०७८/०७९ भन्दा २३ करोड बढी बजेट विनियोजन गरेको हो। सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ५७ करोड ६८ लाख, चालु आव २०७८÷०७९ मा ३ अर्ब ९२ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो।

आगामी आर्थिक वर्षमा बाँकेका आठ स्थानीय तहका लागि चालुतर्फ ३ अर्ब ६६ करोड ४४ लाख र पूँजीगततर्फ ४९ करोड २९ लाख रुपियाँ विनियोजन गरिएको छ। आठ स्थानीय तहलाई सामान्यीकरण अनुदानतर्फ १ अर्ब ४६ करोड १६ लाख, सशर्ततर्फ २ अर्ब ४९ करोड ५८ लाख, विशेषतर्फ १० करोड ८० लाख र समपुरकतर्फ ९ करोड १९ लाख रुपियाँ विनियोजन गरेको जनाइएको छ।

सरकारले आगामी आ.व. २०७९/०८० का लागि सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकाको लागि विनियोजन गरेको छ। संघीय सरकारले नेपालगञ्ज उपमहानगरपालिकाका लागि कुल ९५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा सशर्त अनुदान ५७ करोड १ लाख, वित्तीय समानिकरण ३३ करोड ९९ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान २ करोड ७५ लाख रुपियाँ रहेको छ।

यस्तै कोहलपुर नगरपालिकाले आगामी आ.व.का लागि ५८ करोड १ लाख बजेट पाउने भएको छ। जसमध्ये सशर्त अनुदान ३४ करोड ८४ लाख, वितीय समानिकरण अनुदान २१ करोड ७ लाख, विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान ६० लाख रुपियाँ विनियोजन गरेको छ। 

खजुरा गाउँपालिकाका लागि सरकारले सशर्त अनुदान ३३ करोड ९५ लाख, वित्तीय समानिकरण १६ करोड ७९ लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ७० लाख गरेर ५२ करोड २४ लाख रुपियाँ छुट्याएको छ। 

त्यस्तै, बैजनाथ गाउँपालिकालाई आगामी आवका लागि कुल ४८ करोड ९० लाख विनियोजन गरिएको छ। जसमा सशर्त २९ करोड ३६ लाख, वित्तीय समानिकरण १७ करोड ५० लाख, विशेष अनुदान ५० लाख, समपुरक १ करोड ५४ लाख रुपियाँ रहेको छ।

जानकी गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ३५ करोड ४७ लाख रुपियाँ विनियोजन गरिएको छ। जानकीले सशर्ततर्फ १७ करोड ४८ लाख, वित्तीय समानिकरणतर्फ १३ करोड ३९ लाख, विशेष तर्फ ३ करोड र समपुरक तर्फ १ करोड ६० लाख रुपियाँ प्राप्त गर्ने भएको हो। 

डुडुवा गाउँपालिकाले ३७ करोड ४६ लाख रुपियाँ संघीय सरकारबाट पाउँदैछ। जसमा सशर्ततर्फ २१ करोड ९१ लाख, वित्तीयतर्फको १३ करोड १५ लाख विशेष १ करोड ५० लाख र समपुरकतर्फ ९० लाख रुपियाँ रहेको छ।

राप्तीसोनारी गाउँपालिकाका लागि ५२ करोड ७१ लाख रुपियाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३४ करोड ६५ लाख वित्तीय समानिकरण १८ करोड ६ लाख रहेको छ। राप्तीसोनारीका लागि विशेष र समपुरक बजेट विनियोजन गरिएको छ।

त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ३५ करोड १९ लाख रुपियाँ विनियोजन गरिएको छ। नरैनापुरले २० करोड ३८ लाख सशर्त, १२ करोड २१ लाख वित्तिय समानिकरण, विशेषतर्फ १ करोड ५० लाख र समपुरकतर्फ १ करोड १० लाख रुपियाँ बजेट प्राप्त गर्दैछ।