सुधा देव
भारदह(सप्तरी), चैत १३ गते । जिल्लाको रूपनी गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीया रोशनकुमार यादवको वैदेशिक रोजगारीको क्रममा मृत्युु भएको छ ।
वैदेशिक रोजगारीका लागि २० दिन अघि कतार गएको यादवको रोजगारीकै क्रममा यही चैत ६ गते मृत्युु भएको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो । यादवको शव बुधबार बिहान घर आइपुगेको छ ।
घरको अवस्था सामान्य रहेकाले परिवारको खर्च टार्न विदेशिएको दुई हप्तामै यादवको मृत्युु भएपछि वडा नम्बर ४ का स्थानीय शोकमा डुबेको वडाध्यक्ष छेदी इसरले जानकारी दिनुभयो ।
यादवको बुधबार बिहान गाउँपालिकामा अन्त्येष्टि गरिएको छ । मृतकको यादवको एक तीन वर्षीया छोरी र श्रीमती छन् । योसँगै चालु आर्थिक वर्ष २०८१/०८२ मा यस जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेश गएका २० जनाको मृत्यु भएको अप्रवासी स्रोत केन्द्र सप्तरीका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिनुभएको छ ।