• १६ चैत २०८१, शनिबार

चियाको पहिलो टिपाइ सुरु

blog

कोकिला ढकाल

इलाम, चैत १३ गते । इलाममा यस वर्षको उत्पादन सुरु हुन थालेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा केही उद्योगका लागि पहिलो टिपाइ वा ‘फस्ट फ्लस’ को काम सुरु भएको छ ।बर्सैभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वसाथ लिने गरेका छन् । 

यस पटक अन्तुको श्रीअन्तु फार्मस् टी प्रालि, कन्याम चिया सहकारी र इलाम नगरपालिका–४ स्थित फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिजले पहिलो टिपाइको चिया प्रशोधन नै गर्न थालेका छन् । 

साँखेजुङस्थित ग्रिनहिल टी इन्ड्रस्टिजले पनि यही चैत १४ देखि यस वर्षको चिया प्रशोधन सुरु गर्ने जनाएको छ । “पहिलो टिपाइको चिया निकै महत्वपूर्ण हुन्छ तर गत वर्षहरूमा जस्तो उत्पादन छैन । भर्खर मुना पलाउन सुरु गर्दै छ,” ग्रिनहिल टी इन्ड्रस्टिजका सञ्चालक टङ्क दाहालले भन्नुभयो । 

दाहालले जर्मनी, अमेरिकासहित युरोपका देशहरू र चीन तथा भारतमा समेत गरी गत वर्ष ५५ हजार किलो तयारी चिया विदेश निर्यात गरेको बताउनुभयो । उहाँले यस वर्ष पनि तेस्रो मुलुकमा चियाको व्यापार राम्रै हुन्छ भन्ने अपेक्षा गरेको बताउनुभयो । 

यस वर्ष हिउँदमा वर्षा नहुँदा त्यसको असर चिया उत्पादनमा परेको बताइएको छ । प्रायः फागुन अन्तिम सातादेखि चैतको पहिलो सातासम्म चियाको पहिलो टिपाइ सुरु हुने गरेको थियो । तर मौसम सुक्खा भएको र पहाडी क्षेत्रमा सिँचाइको वैकल्पिक व्यवस्था नभएकाले त्यसको असर चियामा परेको किसान बताउँछन् । 

अर्गानिक प्रमाणीकरण भएको पहिलो टिपाइको चिया अधिकांश व्यवसायीले तेस्रो मुलुक निर्यात हुने गरेको बताउँछन् । इलाममा गोल्डेन, गोल्डेन रिङ, गोल्डेन पल, सिल्भर, गोल्डेन ब्ल्याक, ग्रिनलगायतका फरक फरक नाम र स्वादका चिया उत्पादन हुने गरेको छ ।