सीता काफ्ले
तिनाउ (रुपन्देही), चैत १२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।जिल्लाका अन्य पालिकामा फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ ।
घर तथा उद्योग प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गर्दै आएको नगरपालिकाले सङ्कलित फोहोरबाट मोहर कमाउदै आएको छ । ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमाको नारा दिएर फोहोर व्यवस्थापन गर्दै आएको नगरपालिकाले फोहोर व्यवस्थापनमा देशमै उत्कृष्ट उदाहरण प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।
फोहोर व्यवस्थापनमा तिलोत्तमाले असल अभ्यास प्रयोग गरेको छ, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो, ‘‘नगरपालिकाले निजी क्षेत्रसँग साझेदारी गरेर कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै रुपमा व्यवस्थापन गर्दै आएका छौ ।’’
तिलोत्तमाले फोहोर व्यवस्थापनमा गरेको कामलाई कतिपय नगरपालिका सिकाइका लागि अध्ययन गर्न समेत आउने गरेका बताउनुहुँदै अर्यालले भन्नुभयो, ‘‘यसले स्थानीय तहको सक्रियता र नवीन सोचको महत्त्वलाई उजागर समेत गरेको छ ।’’
तिलोत्तमा नगरपालिकाले फोहोर व्यवस्थापनमा आधुनिक प्रविधि र सहकार्यको प्रयोग गर्दै आएको छ । नगरपालिकाले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपाल र वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै फोहोर सङ्कलन, प्रशोधन, र पुनः प्रयोगमा ध्यान दिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो ।
नगरपालिकाले कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने गरेको छ भने र नकुहिने फोहोरलाई पुनः प्रयोगयोग्य सामग्रीमा परिणत गर्दै राजस्व सङ्कलन समेत गर्दै काम गर्दै आएको छ । नगरपालिकाले अत्याधुनिक मेसिनरी औजारको प्रयोग गरेर फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्दै आएको जनाएको छ । कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाउँदै आएको नगरपालिकाले नकुहिने फोहोरबाट व्रिगेट (दाउरा) तथा कवाड सामग्रीलाई बिक्री गर्दै आएको नगरपालिकाले जनाएको छ ।
१७ वटा वडा रहेको नगरपालिकामा तीन तहमा विभाजन गरी फोहोरको व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १, ३, ४, ५ र ६ को फोहोर सुन्दर नेपालसँग सहकार्य गरेर व्यवस्थापन गर्दै आएको नगरपालिकाले जनाएको छ ।
वडा नम्बर २ को फोहोर स्थानीय उपभोता समितिले व्यवस्थापन गर्दै आएको छ भने वडा नम्बर ७ देखि १७ सम्मको फोहोरको व्यवस्थापन जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले गर्दै आएको छ । नगरपालिकाले उपभोत्ताको घर, अफिस, कलकारखाना, होटल, हस्पिटलबाट निस्कने फोहोरले नगरपालिकाले आर्थिक ऐन कार्यविधि तयार पारी मूल्य निर्धारण गरेर फोहोरको व्यवस्थापन गर्दै आएको तिलोतमा नगरपालिकाको वातावरण शाखा हरियाली प्रवर्द्धन अधिकृत गोरखनाथ खनालले जानकारी दिनुभयो ।
खनालले तिलोत्तमा नगरपालिकाबाट दैनिक २० टन फोहोर सङ्कलन हुने गरेको बताउनुभयो । सरसफाइका लागि मात्रै एक सय २० जनाले रोजगारी पाएको नगरपालिकाले जनाएको छ । यसरी गाउँ, टोल, सहकारी र निजी संस्था मिलेर नगरलाई स्वच्छ र समृद्ध बनाउन सकिन्छ भन्ने उदाहरण बनेको नगरपालिकाले जनाएको छ ।
१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकाले सरसफाई श्रृङ्खला चलाउदै आएको छ । नगरपालिकाले अहिलेसम्म १४१ औं श्रृङ्खला सञ्चालन गरी सकेको तिलोत्तमा नगरपालिकाका वातावरण शाखाको हरियाली प्रवर्द्धन अधिकृत खनालले जानकारी दिनुभयो ।
महिनाको १ र १५ गते वडावडामा सरसफाई अभियान चलाई नागरिकलाई फोहोर व्यवस्थापनमा सचेत बनाउदै आएको छ ।