कमल खत्री
धम्बोझी, चैत १२ गते । नेपालगन्ज रंगशालामा अहिले हरियो दुबो र घाँसहरु पलाउन थालेका छन् । मैदानको घाँस काटेर सम्माउने काम अहिले भइरहेको छ । नेपालगन्ज रंगशालाको फुटबल मैदान विगतभन्दा सुन्दर देखिदै गएको छ । धेरै वर्ष नेपालगन्ज रंगशालाको दृश्य मनमोहक बन्दै गएको बताउनुहुन्छ, बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही । पछिल्लो समय फुटबलका गतिविधि बढन थालेपछि रंगशालाको अनुहार नै फेरिँदै गएको उहाँको भनाइ थियो ।
करौडौं रकम खर्च गरेर निर्माण गरिएको रंगशालामा खेलकुदका गतिविधि नभएको धेरै भयो । झण्डै पाँच वर्षपछि नेपालगन्ज रंगशालाको फुटबल मैदानमा राष्ट्रिय स्तरको प्रतियोगिता हुँदैछ । २०७६ साल वैशाख ११ गते सकिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो पटक नेपालगन्जमा भएको सर्वाधिक ठुलो प्रतियोगिता हो । त्यसपछि रंगशालाको फुटबल मैदान ठप्प भयो ।
केहि समय कोभिड–१९ र केहि समय रंगशालाको एथ्लेटिक्स प्यारापिटको निमार्णका कारण रंगशालामा खेलाडीहरुले झण्डै पाँच वर्षभन्दा बढी समय खेल्न पाएनन् । त्यसपछि गत माघमा बाँके जिल्ला फुटबल संघले जिल्लास्तरीय अन्तर विद्यालय मेयर कप फुटबल आयोजना गरेपछि रंगशालामा खेलाडीहरुको चलहपहल बढ्दै गएको हो ।
अब अहिले नेपालगन्जले आठौं राष्ट्रिय खेलकुदपछि महत्त्वपूर्ण प्रतियोगिता प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आयोजना गर्दैछ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ । रंगशालामा हरियो घाँस उमार्नेदेखि लिएर मैदानको पानी सिँचाइ भइरहेको कारण मैदान निकै आकर्षण देखिन थालेको छ ।
नेपालगन्जमा स्तरीय प्रतियोगिता आयोजना गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताउनुहुन्छ, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह ।
प्रतियोगितालाई सफल बनाउन अहिले नेपालगन्जवासीले उत्साह जनक रुपमा तयारीमा होमिरहेका छन् । प्रतियोगिता अघि बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकारले मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेका छन् ।
अन्तरालको आयोजनामा आगामी वैशाख ५ देखि १५ गतेसम्म नेपालगन्ज रंगशालमा प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिता अघि मैत्रीपूर्ण फुटबलको आयोजना गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफले, मीना श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन मैत्रीपूर्ण फुटबलले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति बाँके उपप्रमुख सीता कार्कीले प्रतियोगिताले महिला खेलाडीहरुको आत्मविश्वास बढाउन र अवसर प्रदान गर्ने भन्दै यसलाई सफल बनाउन सबै क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।
कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले महिला सशक्तिकरणसँगै महिला फुटबल खेलाडीलाई उच्च स्तरको अवसर प्रदान गर्नमा प्रतियोगिता सहयोग बन्ने बताउनुभयो ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले लुम्बिनी कप महिला फुटबल बाँकेमा हुनु गर्वको विषय भएको बताउँदै प्रतिभावान खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिष थारु, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय लगायतको सहभागिता रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा मैत्रीपूर्ण फुटबलको तयारी अगाडि बढिरहेको छ ।
प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा बाँकेलाई चिनाउने भएकोले पनि प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल महत्त्वपूर्ण रहेको थापाले बताउनुभयो ।