• १६ चैत २०८१, शनिबार

‘अभिवन्द्य’ को तेस्रो संस्करण सार्वजनिक

blog

काठमाडौँ, चैत १२ गते । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ को विभिन्न व्यक्तित्वमाथि लेखिएको निबन्धकृति ‘अभिवन्द्य’ को तेस्रो संस्करण एक समारोहबिच सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौँमा कृतिमाथि बोल्दै साहित्यकार तथा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले सबैभन्दा गाह्रो काम मान्छे पढ्नु भएको भन्दै निबन्धकार ‘रोदन’ ले मान्छे पढेर यो व्यक्तिनिबन्ध सिर्जना गरेको बताउनुभयो । उहाँले निबन्धकारले प्रयोग गरेको नयाँ शैलीको प्रशंसा गर्नुभयो ।

साहित्यकार प्रमोद प्रधानले लेखकले छोटा छोटा शब्दमा धेरै कुरा उल्लेख गरेको बताउँदै कृतिको महत्ता र लेखकीय चिन्तनको चर्चा गर्नुभयो । निबन्धकार ‘रोदन’ ले अभिवन्द्यको रचनागर्भबारे बोल्दै आफू निबन्ध लेखनमा निबन्धकारहरू राममणि रिसाल र तेजेश्वरबाबु ग्वङ्गबाट प्रभावित भएर यो पुस्तकको सिर्जना गरेको बताउनुभयो ।

सुनकोशी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष छविरमण सिलवालले प्रतिष्ठानको गतिविधिबारे जानकारी गराउनुभयो । ५९ जना विभिन्न व्यक्तिमाथि लेखिएको यो निबन्धकृति सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको हो ।