• ७ जेठ २०८१, सोमबार

याम्पा–घाँसीकुवा खण्ड सडक दैनिक पाँच घण्टा बन्द गरिने

blog

अमरराज नहर्की

तनहुँ, जेठ २० गते । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड फराकिलो पार्ने काम भइरहेकाले दैनिक पाँच घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तर्गत साविक दुई लेनमा रहेको यस सडक खण्डलाई चार लेनमा विस्तार गरिने कार्य छिटो सम्पन्न गर्न पाँच घण्टा सडक बन्द गरेर फराकिलो बनाईने भएको हो । 

सडक स्तरोन्नतिका लागि बन्दीपुर गाउँपालिका –५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि राति ११ देखि बिहान ४ बजेसम्म सडक बन्द गरी काम गरिनेभएको छ । सडक स्तरोन्नतिको क्रममा दुर्घटना हुने जोखिम भएकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्दगरी काम गर्ने निर्णय भएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

राती कम सवारी गुड्ने हुँदा यात्रुलाई मर्का नपरोस् भनेर रातको समय बन्द गरी काम तिब्र पारिने बताउनुभयो । आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको उहाँले बताउनुभयो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन् । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेको आयोजना प्रमुख सुवेदीले जानकारी दिनुभयो ।  

मुग्लिङ–पोखरा सडक विस्तारकार्य अन्तर्गत पश्चिम खण्डबाट पनि सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ । २०२६ मा रेखाङ्कन भएको सो सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख रुपियाँमा र पश्चिम खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख रुपियाँ रहेको छ । सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ । आयोजना अन्तर्गत साना ठूलागरी सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुने आयोजनाले जनाएको छ । 

फराकिलो बनाउने क्रममा  भत्किने संरचनाको सर्भेगरी क्षतिपुर्ति वितरण गर्नेलगायतका कार्यलाई अगाडि बढाइएको छ । सडक फराकिलो बनाउँदा सडकजाम तथा दुर्घटना नहोस भनि चार ठाउँमा सडक डाइभर्सन गरी सडक फराकिलो बनाउने काम भइरहेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । 

सुवेदकीका अनुसार आयोजना अन्तर्गत सानाठूला गरी पश्चिम खण्डमा १२ र पुर्वीखण्डमा १७ वटा पुलहरु निर्माण गरिने भएको छ । तनहुँ खण्डको मादी नदीको पुल र कास्कीको सेती नदीको पुलको भने छुट्टै ठेक्का लगाइने बताइएको छ । पृथ्वी राजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्छ । यस खण्डभित्र आवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, देउराली, कमलबारी, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु छन् ।