गार्डेन राई
सोलु, चैत १० गते । चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट गोरखापत्रकर्मी गार्डेन राई पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा गोरखापत्रकर्मी राई आइतबार पुरस्कृत हुनुभएको हो ।
दोसल्ला, सम्मानपत्र र १५ हजार नगद रुपियाँसहित पुरस्कृत हुनुभएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।
गोरखापत्रकर्मी राई २०६७ सालदेखी पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्छ । राई हाल प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्ष, नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको उपाध्यक्ष र सोलु एफएमको स्टेसन म्यानेजर हुनुहुन्छ ।
गोरखापत्रकर्मी राईसँगै हदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट मातृका पौडेल, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट हेमन्त पौडेल, डाक्टर शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ, वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कारबाट लालबाबु शेख, डेकेन्द्रथापा स्मृति पत्रकारिता पुरस्कारबाट टपेन्द्र कार्की काठमाडौँ र मालती केसी, सावित्रीदेवी पद्यलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार उसा तामाङ र रोशनी कठेत र चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट हरिस चन्द्र पुरस्कृत हुनुभएको प्रेस चौतारी नेपालले जनाएको छ ।