• १२ चैत २०८१, मङ्गलबार

१२५ मिटर उचाइको बन्यो ऋषिदह झोलुङ्गे पुल

blog

मेल्लेख १ ऋषिदहको लिफ्रुदेखि वडा २ डाँडाँश्री जोड्ने झोलुङ्गे पुल । तस्बिरः एकेन्द्र महता

एकेन्द्र महता

अछाम, फागुन १० गते । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी उचाईमा मेल्लेख गाउँपालिकाको ऋषिदहमा झोलुङ्गे पुल निर्माण भएको छ । मेल्लेख गाउँपालिका १ ऋषिदहको लिफ्रुदेखि वडा नम्बर २ डाँडाँश्री जोड्न झोलुङ्गे पुल निर्माण भएको हो । 

शहरी विकास मन्त्रालायको डेढ करोडको लागतमा बनेको पुलको लम्बाई २७८ मिटर र उचाई करिब १२५ मिटर रहेको छ । लिफ्रु खोलामा निर्माण भएको पुल सुदूरपश्चिमै अग्लो भएको खम्पाचे चन्द्रोदय जेविका प्रमुख कर्ण बिष्टको भनाइ छ । २०७८ असार महिनामा सम्झौता भएको पुल निर्माणको काम माघ महिनामा सम्पन्न भएको हो । 

लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि लिफ्रु र डाँडाँश्रीका स्थानीयको यात्रा अवधि छोटिएको छ । लिफ्रु र डाँडाँश्री आवत–जावत गर्न कम्तीमा पनि दुई घण्टा समय लाग्ने गरेकोमा अहिले २० मिनेटमा डाँडाँश्रीबाट लिफ्रु पुग्ने गरेको स्थानीय वुद्धि धामीको भनाइ रहेको छ । 

‘भारी बोकेर डाँडाँश्री जाँदा उकालाको बाटोमा यात्रा निकै असहज हुँदै आएको थियो’ धामीले भन्नुभयो, ‘अहिले लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज हुनुका साथै समय बचत भएको छ ।’ उहाँले खोलाको बाटो भएर डाँडाँश्री जाँदा समस्या हुँदै आएकोमा झोलुङ्गे पुल बनेपछि सहज भएको उहाँको भनाइ छ । 

स्थानीय लक्ष्मी धामी पनि लिफ्रुबाट डाँडाँश्री जोड्ने झोलुङ्गे पुल बनेपछि खुशी देखिनुभएको छ । ‘ऋषिदहको काँटिबाट माइतिघर डाँडाश्री पुग्ने खोलाको बाटो भएर जान निकै गाह्रो हुँदैआएको थियो’ उहाँले भन्नुभयो, ‘लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि आवत जावतमा सहज भएको छ ।’ 

पहिले घाँसका भारी, अन्य सामग्री बोकेर डाँडाँश्री हिडेर जाँदा समस्या हुने गरेकोमा अव झोलुङ्गे पुल बनेपछि सहज भएको धामीको भनाइ छ । मेल्लेख गाउँपालिका वडा २ का वडा अध्यक्ष कुशलराज बुढाले लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माणले लिफ्रुदेखि डाँडाँश्री एक आपसमा जोडिएको बताउनुभयो । ‘डाँडाँश्रीवाट गोपाले गाउँ स्थित चण्डीका माध्यामिक विद्यालय कक्षा ११ र १२ अध्ययनको लागि जाने विद्यार्थीलाई पुलले सहजता ल्याएको धारणा व्यक्त गर्नुभयो । 

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले लिफ्रुदेखि डाँडाँश्रीमा अग्लो उचाइमा बनेको पुलको अवलोकन तथा ऋषिदहको पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्ने अध्यक्ष भलिवल कप प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । ऋषिदह विकट मात्र नभएर सम्भावनाको वडा पनि भएको उहाँले बताउनुभयो । यस्तै गाउँपालिका अध्यक्ष अछाम र बाजुरालाई जोड्न ऋषिदहमै अर्का झोलुङ्गे पुल निर्माणको प्रक्रिया पनि सुरु भएको जानकारी दिनुभयो ।