काठमाडौँ, चैत १० गते । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आइतबार एक कार्यक्रम गर्दै नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २२४ क्षयरोका बिरामी उपचारको दायरा बाहिरा रहेको उल्लेख गरेको छ ।
सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले नेपालमा वार्षिक ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ हजार बिरामीको मृत्युहुने अनुमान गरेको थियो ।
केन्द्रका निर्देशन डा.श्रीराम तिवारीले नेपालमा अनुमानित बिरामी मध्ये ४० हजार ७७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, “अनुमानित क्षयरोग प्रभावित बिरामी र उपचारको दायरामा आएका बिरामीको संख्यामा ठूलो अन्तर छ । हामीले ४० प्रतिशत क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नै सकिएको छैन ।”
नेपालले सन् २०३० सम्म क्षयरोग महामारीबाट अन्त्य गर्ने र २०५० सम्म क्षयरोग मुक्त नेपालमा बनाउने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउनु सबैभन्दा ठूलो चुनौती रहेको अस्पतालमा छातीरोग विशेषज्ञ डा. नविनप्रकाश साहको भनाइ छ ।
उहाँकाअनुसार केन्द्रले उपचारको पहुँच वृद्धि गर्दै लगेको छ । हाल केन्द्रले ६ हजार २४१ वटा डटकेन्द्रबाट क्षयरोगको निःशुल्क औषधी वितरण गर्दै आएको छ ।
क्षयरोगका बिरामी मध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । बिरामी मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग, २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग पुष्टि भएको डा. तिवारीले जानकारी दिनुभयो ।
उपचारमा आएका क्षयरोगका बिरामीमध्ये ७५६ जना औषधी प्रतिरोधी रहेको तिवारी बताउँनुहुन्छ । नेपालमा क्षयरोगको उपचार सरफलता दर ९२ प्रतिशत छ ।