केशव राज भट्ट
बाशुलिङ्ग / बैतडी, चैत १० गते । जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसुति रोगसम्बन्धी सेवा सुचारु भएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि यहाँ स्त्री तथा प्रसुति रोग सम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको पन्तले बताउनुभयो । विशेषज्ञ चिकित्सक आएसँगै महिलाहरुलाई उपचारका लागि सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।
यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य भएको र अब उक्त बाध्यताको पनि अन्त्य भएको अध्यक्ष भट्टले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । उहाँसँगै नयाँ मेडिकल अधिकृतका रूपमा डा निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर हुनुभएको अध्यक्ष भट्टले बताउनुभयो ।
डा ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आएसँगै अब जिल्ला अस्पतालमा दुई विशेषज्ञ, एक दन्तरोग विशेषज्ञ र ६ स्वास्थ्य अधिकृत सहित नौ चिकित्सक कार्यरत रहेको व्यवस्थापन समिति अध्यक्ष भट्टले बताउनुभयो ।
पछिल्लो समय विभिन्न प्रकारका सेवा विस्तारमा जोड दिइरहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।