अर्जुन काफ्ले
स्याङ्जा, चैत १० गते । आफ्नै जग्गा होस्, राम्रो सुविधा सम्पन्न घर होस्, सबैको सपना हुन्छ । यहाँका कालीगण्डकी गाउँपालिका– ७ आँधीमुहानमा लामो समयदेखि बसोबास गर्दै आएका सिमान्तकृत बोटे र माझी समुदाय भने लालपूर्जाविहीन रहेका छन् ।
यहाँका बोटे र माझी जन्म जातै सुकुम्वासी रहेका छन् भने ६६ वर्षबाट लालपूर्जा पाउन नसकेका हुन् ।
कालीगण्डकी जलविद्युत आयोजनाको स्थापनासँगै मिर्मी आँधीखुहानमा बसोबास गर्ने यो समुदायको पेशामात्रै सङ्कटमा परेन उनीहरु बसोबास गर्दै आएको भूमीको लालपूर्जा नहुँदा बासस्थान समेत सङ्कटमा परेको हो । आँधीमुहानमा बस्ने ६६ धरधुरीको लालपूर्जा नभएकोमा ३९ घरपरिवार बोटे तथा माझी रहेका छन् ।
यहाँका ६६ घरधुरीले भगवती माध्यमिक विद्यालयको गुठी जग्गाअन्तर्गत कित्ता काट गरेर विद्युतको सेवा उपभोग गरी रहेका छन् ।
राष्ट्रिय भूमी आयोगले बाटो खोल्ने हो भने कालीगण्डकी भित्रका अव्यवस्थित बासोबास गर्दै आएका यहाँका बोटे रा माझी परिवार प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष खिम थापाका भनाइ थियो ।
यहाँ बसोबास गर्दै आएको बोटे समुदायको घरको पूर्जा नहुँदा सरकारबाट पाउने धेरै सेवा सुविधावाट बञ्चित भएका छन् ।
कालिगण्डकी ए ड्याम निमार्ण हुँदा प्रवाभित बनेका ३९ घर बोटे समुुदायका केहि घरहरु प्राधिकरणले स्थानान्तरण गरेको भएता पनि अन्य घरहरु भने आफैँ निमार्ण गरेका छन् ।
एकातिर कालिगण्डकीको कटान, अर्कातीर पूर्जाको अभाव झेल्दै आएका रैथाने बोटे बस्तीलाई स्थानीय तहले सोचे अनुुरुपको काम गर्न नसकेको र त्यसको समाधानका लागि प्रयास जारी रहेको वडा अध्यक्ष प्रकाश भट्राईको भनाइ छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा ९६३ माझि र २१५ सङ्ख्यामा बोटे समुदाय रहेका छन् ।
स्थानीय सरकार आएसँगै विभिन्न समुदायका नागरिकले सेवा सुविधा पाएका उदाहरण धेरै सुुनिने गर्दछ । आधिमुहानका बोटे समुदाय भने गुठीको नाममा जग्गा हुुँदा आफू नागरिक भएको महसुुस गर्न पाएका छैनन् ।
बोटे र माझीको पेसा सङ्कटमा
पुस्तौँदेखि माछा मार्ने तथा डुङ्गा चलाउने व्यवसायलाई अँगाल्दै आएका यहाँका माझी तथा बोटेहरुको पेसा सङ्कटमा पर्न थालेको छ ।
समुदायहरु आधुनिकताले फड्को, सडक निर्माण, खोला नदीमा प्रदूषण र बढ्दो शहरीकरणले खोलानदीमा माछा नहुनुका साथै सवारीसाधन सहज चल्न थालेपछि माछा मार्ने तथा बोटे पेसा सङ्कट परेको हो ।
कालीगण्डकी ए ड्याम निमार्णले ताल बनेको नदिमा माछा मारेर तथा डुङ्गा चलाएर दैनिकि गुजारा चलाउदै आएका माझीहरु आजभोली माछा नै पाइन छोडेको बताउँछन् ।
बाउँबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदै आएका बोटे तथा माझी समुदाय डुङ्गा चलाएर आफ्नो जीविकोपार्जन गरेको विमला माझीले बताउनुभयो ।
पछिल्लो समय विकास निर्माणले गति लिँदै गर्दा रैथाने पेसा सङ्कटमा पर्न थालेपछि रोजीरोटीका लागि भारत तथा अन्य देशहरुमा जान बाध्य भएको माझीले बताउनुभयो ।
युवा तथा पुरुषहरुको अभावले आधिमुहानका महिला माझी नै डुङ्गा चलाएर घासदाउरा गर्ने र माछा मार्ने यहाँ गर्ने गरेका छन् ।