सिराज खान
नेपालगन्ज, चैत ९ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताउनु भएको छ।
नेपाली कांग्रेस बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी विधेयक अघि नबढ्ने बताउनुभएको हो ।
मुलुकलाई आर्थिक भार थपिने गरी सरकारले कुनै काम नगर्ने जनाउँदै उहाँले मितव्ययिताका साथ काम गरिरहेको प्रष्ट पार्नुभयो।
मन्त्री पौडेलले सांसदको संख्या धेरै बढी भएकाले संविधान संशोधन गर्दा संख्या घटाउने गरी काम गर्न आफूले पनि प्रस्ताव गरेको प्रसङ्ग निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी रहने शासकीय स्वरूपले भने निरंकुशता र स्वेच्छाचारिता बढाउने दाबी गर्नुभयो।
उहाँले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले नवीन ढंगले काम गर्ने कोशिस गरिरहेको बताउनुभयो।कुनै पनि नेपालीले उपचार नपाएर ज्यान गुमाउन नपरोस भन्ने सोच र योजनाका साथ सरकारले देशको स्वास्थ्य सेवामा सुधार गरिरहेको बताउनुभयो।
विभिन्न प्रदेशमा रहेका संघीय अस्पतालको क्षमता बढाउनुका साथै दक्ष जनशक्ति पनि थप गर्ने कार्यमा मन्त्रालयले काम अगाडि बढाएको मन्त्री पौडेलले बताउनुभयो।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको सो कार्यकर्ता भेटघाट कार्यक्रममा संविधानसभा सदस्य बादशाह कुर्मी, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला लगायतको उपस्थिति रहेको थियो।