• ७ जेठ २०८१, सोमबार

इमानदार भएर सेवा गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २० गते । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई इमानदारीपूर्वक जिम्मेवारी बोध गरेर जनताको सेवामा लाग्न आग्रह गर्नुभएको छ । 

नेपाली कांग्रेस काठमाडौँ महानगर कार्यसमितिले बिहीबार आयोजना गरेको कार्यक्रममा उहाँले महानगरको प्रमुख तथा उपप्रमुख पदमा पराजय बेहोर्नु परे पनि १९ वडाध्यक्ष र ९३ जना सदस्यले जित हासिल गरेकाले महानगरमा बहुमत पु¥याएको बताउनुभयो । उहाँले महानगरको आगामी नीति तथा कार्यक्रम बनाउँदा नेपाली कांग्रेसको घोषणापत्रलाई केन्द्रमा राखेर बनाउन पहल गर्न निर्देशन दिनुभयो । उहाँले संविधानको रक्षाका लागि अहिलेको गठबन्धनलाई अझै केही समय निरन्तरता दिनु पार्टीको बाध्यता रहेको स्पष्ट पार्नुभयो ।  

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रजातन्त्रमा विश्वास र आस्था राख्ने कांग्रेसले जनमतको निर्णयलाई सदैव शिरोधार्य गर्ने बताउनुभयो । उहाँले कांग्रेसले पाएको बहुमतसँगै नवनिर्वाचित जनप्रतिनिधिका काँधमा जिम्मेवारी थपिएकाले आपसी संवादलाई निरन्तरता दिँदै जनताको सेवामा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुनुभएकी सिर्जना सिंहले मतका आधारमा आफूले कम मत पाए पनि काठमाडौँवासीको मन जित्न सकेको बताउनुभयो । नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले आगामी दिनमा सङ्गठनभित्रका कमी–कमजोरीलाई केलाउँदै अगाडि बढ्ने बताउनुभयो । नेका क्षेत्रीय सभापति मुकुन्द रिजालले टुटफुटको राजनीति अन्त्य गरेर प्रदेश र सङ्घको आगामी निर्वाचनलाई ध्यानमा राखेर आफ्ना आचरण, व्यवहार र कार्यशैली प्रस्तुत गर्न आग्रह गर्नुभयो ।