• २९ चैत २०८१, शुक्रबार

लजालु ल्होमन्थाङ (निबन्ध)

blog

बोलेरोबाट ओर्लेर अगाडि जानेबित्तिकै ल्होमन्थाङ बजारको बाहिरी भागमा पुग्यौँ हामी । बायाँपट्टि होटलको लहर छ, दायाँपट्टि हरिया र अग्ला रुखहरू हल्लिइरहेछन्, बिचमा सडक र सडकछेउको कुलोमा सुलुल्ल बगिरहेछ कञ्चन पानी । त्यहीँ हिँडिरहेका भेटिए दुई बहिनी–एउटी तीन दशक र अर्की दुई दशक उमेर पार गरेका ।

सफा कोठा, सजिला र सुन्दर शौचालय, खानपानलाई सजिलो, सुशील साहुनी बहिनी यत्ति बुझेपछि होटल मिस्टिकमै बस्ने भयौँ हामी । ‘बहिनी, हामी नुहाइहाल्छौँ, खाजाका लागि फापरको रोटी बनाइदिनुहोस् न है’– कोठामा छिर्नु अगावै होटलकी साहुनी बहिनी कर्चुङ लामालाई भनेको कुरा । 

असाध्यै शान्त, शालीन र सभ्य देखिनुहुन्छ कर्चुङ बहिनी । एक शब्द पनि खेर नजाने मिठो बोली छ उहाँको । थोरै समयमा पनि लामो समयपछि भेटिएका दाजुबहिनीबिच मायाको मेहरो बढे जस्तो भइरहेछ । मलाई त झन् मान्छे भेट्नै हुन्न, फुटिहाल्छ मायाको मूल । बहिनीमा कुनै कृत्रिमता छैन, सबै सहज देखिन्छ । साँच्चै आफन्तका घरमा पुगे झैँ भएको छ हामीलाई । उनको मिजासले नै आधा थकाइ म¥यो ।

‘तपाईंहरू तलबाट भर्खर आइपुग्नुभएको छ, अल्टिच्युट लाग्छ कि, झ्वाट्ट ननुहाउनु बेस् ।

‘ज्यान धुलित भएको छ, म त जे भए पनि नुहाउँछु’, मित्र छिरिहाल्नुभयो बाथरुममा ।

‘पाँच हजार फिटभन्दा माथिल्लो उचाइका धेरै ठाउँमा पुगेको छु म,’ मैले भनेँ ।

‘त्यसो हो भने त लेक लाग्दैन होला सरलाई, ल्होमन्थाङ त दुई हजार आठ सय चालिस मिटर उचाइमा त रहेको छ नि,’ नुहाउने स्वीकृति बहिनीबाट पाउनेबित्तिकै मज्जाले तातोपानीमा डुबेँ म पनि ।  भाँगाको अचार र महसँग फापरको रोटी खाएपछि ज्यान ताजा भएको छ । अझ एकेक बाउल लसुनको सुप तन्काएपछि बाहिरको चिसो हावा हुतिहारा बनेको छ हाम्रासामु । साँझ झप्किन अझै दुई घण्टा जति बाँकी छ । नौलो प्रदेशमा निमेष खेर फाल्न हुँदैन भन्ने पक्षमा छु म । साथीहरूको पनि एकै मतो छ ।

हामी बाहिरिन्छौँ होटलबाट । ल्होमन्थाङ लजालु बनेकी छे । वरिपरिका डाँडाहरूमा बादल ओडेर नियालिरहिछे हामी जस्ता पर्यटकलाई । दुई सय तिस मिटर लम्बाइ र एक सय पचास मिटर चौडाइमा फैलिएकी छे ऊ ।

सम्पूर्ण जगत् नौलो बनेर उभिएको छ, ल्होमन्थाङमा । रुख र घाँसविहीन थुम्क्याइला पहाडहरू छन्, आँखाको डिसले भ्याएसम्म । माझमा हरिया रुखहरू हुर्काएर तिब्बती शैलीका घरहरूमा बाँचिरहेछ ल्होमन्थाङ । वरिपरिका पहेँला पहाड आफैँमा बुद्ध स्तूप जस्ता देखिन्छन् । प्रकृतिले नै चैत्यहरूको जङ्गल बनाइदिए झैँ लाग्छ, ल्होमन्थाङमा । ती प्राकृतिक चैत्यहरूमा बौद्ध थाङ्का जीवित बने झैँ देखिन्छन् । जीवन र जगत्को अर्थ दिने करोडौँ चित्रहरूको प्रदर्शनी भइरहे झैँ लाग्छ । अमूर्त चित्र, मूर्त चित्र, पाषाण मूर्तिहरू सबै सबै जीवित छन् हरेक चट्टाने पहाडहरूमा । तिनै प्राकृतिक मूर्ति र चित्र देखेर सिर्जना कोर्न थाल्यो होला सायद मान्छेले ।

‘ध्यानमा डुब्छु भन्नेले ल्होमन्थाङ नै नपुगी कसरी पाउला र समाधि ? जीवनलाई प्राकृतिक रङमा घुलाउँछु भन्नेले ल्होमन्थाङको प्रकृति, कृति र संस्कृति नबुझे कहाँ पूर्ण होला र उसको लक्ष्य ? हिउँको भुवा पखेटाभरि बोकेर शीतल सिरेटोमा क्षितिजसम्म नूतन वाणी घन्काउने चराका रङहरू नियाल्न जानै पर्छ ल्होमन्थाङ । थाकलका काँडा चपाउँदै चउरभरि शक्ति प्रदर्शन गरिरहेका घोडाहरू, सारा डाँडाकाँडा नै चलायमान भान पार्ने भेडाका बथान, कि काम कि शान्तिको खोजीमा जुटिरहने सिधासाधा ल्होमन्थाङवासीहरू, मरुभूमि तर धर्तीको बेग्लै महक बोकेका चुचुरा, सूर्यलाई सधैँ बाजी राखेर जिस्क्याउने हिमचुचुरा । ती सबैको पारख गर्न पुग्नुपर्‍यो ल्होमन्थाङ । अझ घोडाको बललाई थिचेर आफ्नो काबुमा ल्याउँदै विजयका ध्वजा फहराउने यार्तोङ पर्व र तिब्बती जनजीवन नजिकबाट नियाल्न पनि पुग्नै पर्ने ल्होमन्थाङ । त्यही ल्होमन्थाङसँग बास माग्न गएका छौँ हामी । 

जोमसोमदेखि ल्होमन्थाङसम्मको क्षेत्र नै हो उपल्लो मुस्ताङ । जोमसोमदेखि ल्होमन्थाङको दुरी ५० किलोमिटर नापिएको छ तर पैदल नाप्ने हो भने पाँच दिन लाग्छ । नाङ्गो भएर नवीन हुनु, केही नदेखिएर पनि धेरै थोक भेटिनु विशेषता नै हो उपल्लो मुस्ताङको । नीलगिरि र अन्नपूर्ण मात्र होइन हिँड्दाहिँड्दै आठ हजार १६७ मिटर अग्लो धौलागिरि र आठ हजार ९१ मिटर उच्च अन्नपूर्णले पनि आँखा झिम्क्याउन थालेपछि कुन मान्छे होला र मोहित नबन्ने ? अझ छ हजार मिटरभन्दा बढी उचाइका पैँतिसभन्दा धेरै हिमशृङ्खलाहरू त्यतै भेट्दा हिमाल बुझ्ने, खोज्ने र जान्ने सबैका लागि सर्वप्रियस्थल बनेको छ, उपल्लो मुस्ताङ ।

मिस्टिक होटलबाट अलिकति पूर्व लागेर पश्चिमपट्टि मोडिएका छौँ हामी । ल्होमन्थाङको मुख्य बजार सुरु भएको छ त्यतैबाट । ढुङ्गाको जोडाइ, माटाको लिउन वा माटाको जोडाइ माटाकै लिउन लगाएको र माटाले नै छाना छाइएका घर छन् । घर प्रायः सेतै छन् हिउँरङ्गे । कि छन् सिम्रिक रङमा उज्यालिएका । बुर्जा, बार्दली, झ्याल, ढोका रातो, पहेँलो र निक्खरा मखमली रङले सजाइएको छ । छानाहरूमा दाउरे चट्टानका लहरले डढेलाले झम्टेको झाडीको झलक दिन्छ । पुरानो सहरवरिपरि छिटफुट रूपमा सिमेन्ट, छड, ढुङ्गाका घरहरू निर्माण हुन लागेको देख्दा ल्होमन्थाङले आफ्नो परम्परागत स्वरूपलाई बिस्तारै त्याग्न खोजे झैँ लाग्छ ।

साँच्चै शान्त छ र सुन्दर लाग्छ ल्होमन्थाङ । वरिपरिका डाँडाहरूबाट कुहिरो झर्दै छ ल्होमन्थाङ बजारतिरै । कुहिरोका थोपा झैँ मसिना जलबिन्दु भुसभुसाउँदैछन् । त्यसैलाई पानी परेको भनेर खुसी मान्दै छन् ल्होमन्थाङवासीहरू । हिउँबाहेक पानी नपर्ने ल्होमन्थाङमा पानी मात्र फुसफुसायो भने निकै रमाउँदा रहेछन् मान्छे । भाइबहिनी पिठ्युँमा बोकेका केटाकेटी सडकछेउकै छोर्तेनमा लुकामारी खेल्दै, माने घुमाउँदै, सिमसिमे पानीमा सेब्रु नाचिरहेका देखिए । ऊन नै ऊनका भुत्लामा बेरिएका तिनीहरूमा तिनै भुत्लाले दुःख छिर्न नदिए झैँ लाग्दैथ्यो ।

पसलहरू सडकका दुवै किनारमा छन् । सिसाका झ्याल ढोकाले बन्द छन् सबै । एउटा पसलमा भित्रिन्छौँ हामी । केरुङ, खाडीचौर, बाह्रबिसे अथवा खासाका पसलहरूमा छिरेको भान हुन्छ । पसलभरि चिनियाँ सरसामान मात्र छन् । तीन बहिनीहरू चिनियाँ रक्सी किन्दै छन् ।

‘यसको कति पर्छ ?,’ चिनियाँ बियरको मूल्य 

सोध्नुहुन्छ मित्र ।

‘पचपन्न रुपियाँ ।’

‘यो मिनरल वाटरको नि ?’

‘पचास रुपियाँ ।’

‘अनि, यो वाइनको ?’

‘एक सय पैँतालिस रुपियाँ ।’

पानीभन्दा बियर, वाइन र रक्सी सस्तो रहेछ ल्होमन्थाङमा । अन्न र सागपात महँगो नै रहेछ ।

‘पानीको सट्टा, मस्तसँग बियर पिउन पर्ने रहेछ यतातिर,’ मित्रको जिब्रो फट्कारियो ।

‘सस्तो पाउँदैमा बियरले नुहाउनुभएन, सस्तो बेसाहा पेट लागि मर’ हुन बेर लाग्दैन क्या । यो उचाइमा अल्कोहल विष बराबर बन्न सक्छ,’ सम्झाउँछु म मित्रलाई ।

माटाको सहर रहेछ ल्होमन्थाङ । पहाडको बिचमा पहाड जस्तै माटे घरहरू गुचुमुच्च छन् । घरहरू अग्ला अग्ला पनि छन् तर झ्यालहरू असाध्यै थोरै छन् । भए पनि सारै साना आकारका । घरको मध्यभागमा चोक बनाउने र त्यहाँ छानामा पारदर्शी जस्ता राखेर घाम र उज्यालो पस्ने प्रबन्ध मिलाइएको हुँदोरहेछ । घर घरको बिचमा सारै साना गोरेटाहरू छन् । घरका बिच बिचमा ससाना चोकहरू छन् । सहरको बनावट हेर्दा सहरभित्र हुरी, बतास र शत्रुहरू सजिलै प्रवेश नपाऊन् भन्ने अभिप्रायले घर गरेको छ ।  

‘नमस्कार’– दुई मित्रहरूले हाम्रो ध्यान तान्न खोज्नुभयो । ल्होमन्थाङ पुस्तकालय अघिल्तिर पेटीमा उभिइरहनुभएको रहेछ मित्रहरू । उहाँहरूमध्ये एक हुनुहुँदो रहेछ स्थानीय वाङ्दी र अर्का हुनुहुँदो रहेछ पर्वतका बोधराज पौडेल ।

‘वाङ्दी भनेपछि त खम्पा काण्ड सम्झिएँ नि मैले,’ खम्पा काण्डबारे केही भनून् वाङ्दीले भन्ने अपेक्षा राखेँ मैले ।

‘म देश टुक्रयाउन खोज्ने गे वाङ्दी होइन, सच्चा नेपालभक्त वाङ्दी हुँ बुझ्नु भो ।’ नेपाल प्रेमको जोसिलो रङ्ग देखियो वाङ्दीमा । ‘के हो खम्पा काण्ड भनेको ?’ उत्सुक बन्नुभयो मित्र । ‘खम्पाहरू ओलाङचुङगोलादेखि रसुवा, मुस्ताङ र दार्चुलाको व्यास उपत्यकासम्म युद्ध मनस्थितिमा फैलिएका थिए । उनीहरू नेपालको उत्तरी सीमा क्षेत्र कब्जा गरी मुस्ताङ क्षेत्रमा अराजक र अवैध शासन गर्न र चीनमाथि गुरिल्ला आक्रमण गर्न तम्सेका थिए । उनीहरूले घमी, कागबेनी, छुक्साङ, घिलिङ, चराङ जस्ता ठाउँमा क्याम्प निर्माण गरेका थिए । खम्पाहरू खाम निवासी थिए । तिनीहरू सुरा थिए । धर्मको नाममा सोझा जनतालाई ठगठाग गर्थे र थोरैतिनो गुम्बालाई पनि बुझाइदिन्थे । चीनविरुद्ध तिनैलाई उक्साइयो । त्यो चीनलाई सह्य थिएन । हातहतियार बुझाएर आत्मसमर्पण गर्न नेपाल सरकारले खम्पाहरूलाई आदेश जारी गर्‍यो । दलाइ लामा मुस्ताङलाई नेपालबाट अलग बनाएर चीनविरुद्ध आक्रमण गर्न चाहन्छन् भन्ने हल्ला व्यापक भयो । तोकिएको म्यादमा खम्पाहरूले हतियार बुझाएर आत्मसमर्पण नगरेपछि नेपाली सेनाले खम्पाक्याम्पमा आक्रमण गर्दै हतियार सङ्कलन गर्‍यो र केही खम्पा लडाकुहरूलाई पक्रियो । २०३१ सालमा दार्चुलाको टिङ्कर क्षेत्रमा नेपाली सेनाले खम्पा नाइके गे वाङ्दीलाई मार्‍यो । त्यसपछि मुस्ताङ क्षेत्रमा शान्ति छायो ।’ खम्पा काण्डबारे जानेका कुरा बताएँ मैले । 

वाङ्दी त्यतै बस्नुभयो । हामी घुस्दै छौँ बजारको भित्र भित्र । हामीसँग अघि बढ्नुभएको छ, पौडेलजी । साँघुरा चोकहरूमा ढुङ्गा बिछ्याइएका छन् । कि घरहरू, कि बौद्ध चैत्य र छोर्तेनहरू मात्र भेटिन्छन् सहरभरि ।

‘ओ, दिस इज लिटिल टिबेट ।’’

हाम्रो विपरीत दिशाबाट आइरहेका दुई विदेशी पर्यटकले गरेको कुराकानी घुस्छ हाम्रो कानमा ।

‘धर्म, भाषा, रहनसहन, वेशभूषा, संस्कृति, संस्कार, हावापानी, भूगोल सबै तिब्बतसँग मिल्ने भएकाले ‘स्यानो तिब्बत’ भनिँदो रहेछ ल्होमन्थाङलाई । मान्छेको अनुहार तिब्बतीसँग मिल्दोजुल्दो छ, बिहेवारी र लेनदेन पनि तिब्बतीसँग राम्रैसँग चलेको बताउनुभएथ्यो वाङ्दीले । 

भूगोलले जोडेपछि, भावना र संस्कारले स्पर्श गरेपछि कहाँ टाढिन सक्तछ र मान्छे ?