बसाइँ उपन्यास पढेको ठ्याक्कै २६/२७ वर्ष जति भएछ । आइए पढ्दा २०४९/५० सालतिरको कुरा हो । हिजोअस्ति जस्तो लाग्छ, बसाइँका लेखक लीलबहादुर क्षेत्रीका बारेमा त्यतिबेला सिरिप नाम र ‘बसाइँ’ उपन्यासबाहेक मलाई अरू केही थाहा थिएन । पहिलो पटक उपन्यास पढ्दा नेपालको पहाडिया गाउँले जनजीवन र उसबेलाको सामाजिक परिवेश जस्ताको तस्तै चित्र उतारिएको अनुभूति भयो ।
यो उपन्यासले मेरो हृदयमा एउटा छाप मात्र छोडेन, साहित्य सिर्जनामा लाग्न ठुलो प्रेरणासमेत दियो । लाग्यो, लेखक त यस्तो पो हुनु पर्छ त ! जसको र जुन समाजको चित्रण गरे पनि पाठकलाई आफू स्वयं र आफ्नै समाजको चित्रण गरे जस्तो भान हुने । अरूलाई कस्तो लाग्यो ? मलाई चाहिँ त्यतिबेलै पुस्तक पढिसकेपछि एक पटक लेखकलाई भेट्न सारै मन लाग्यो । मन लाग्यो तर कहाँ र कसरी भेट्ने ? पछि कहाँबाट कसले भन्यो, ‘लीलबहादुर क्षेत्री त आसामका हुन् । उनलाई भेट्न त आसाम जानु पर्छ ।’ अब यो मेरा लागि काँको काँको टाढा । आकासको फल जस्तो भइगयो । बिस्तारै भेट्ने मन त्यतिकै मरिसकेको थियो । सम्झनामा आयो, सानो छँदा बुवाले भनेको सुनेको थिएँ, ‘मेरी दिदी, तिमेरकी जेठी फुपू आसाममा छिन् । आसामको लङ्कामा । उहिले पसेका आसाम फर्केनन् । आज बेलुका सिलगडीबाट रेल चढ्यो भने भोलि बिहान भात खान पुर्याउँछ ।’ कहिलेकाहीँ पछिसम्म पनि बेलुका खाना खाएर सबै बसेको ठाउँमा बुवा आसामका बारेमा बेलिविस्तार लगाउनु हुन्थ्यो, ‘जेठी फुपूको सिङ्गो परिवार आसाम लङ्कामा छ । पहिले हजुरबाहजुरआमा पनि निक्कै समय आसाम बस्नुभएको रे । पछिसम्म पनि हजुरबा र बुवा वर्ष/दुई वर्षमा एक पटक आउजाउ गरिहनुहुन्थ्यो । बुवा पनि पहिले केही समय आसाम बस्नुभएको रे ।’ लगभग आजभन्दा ६० वर्षपहिलेको कुरा हामीलाई मिलाएर कथा जस्तो सुनाउनुहुन्थ्यो । यस्ता कुराले एक पटक आसाम जाने चाहना ममा पनि औडा भएर आउँथ्यो । हामी उरन्ठेउला केटा सानामा भागेर झन्डै आसाम पुगेका । दाइले भेट्टाएर धरानबाट फर्काउनुभएथ्यो । पैसा कमाएर ल्याउन लाहुरे भएर हिँडेका थियौँ ।
भनिन्छ, भगवान्ले तँ चिता म पुर्याउँछु भन्छन् रे । मलाई भगवान्प्रति त्यति विश्वास लाग्दैन । यो कुराको जिम्मा म भगवान्लाई दिँदा पनि दिन्नँ । उपन्यास पढेको २६/२७ वर्षपछि जसोतसो मलाई आसाम जाने साइत जुरेको थियो । यो मेरो कुनै साहित्यक यात्रा पनि थिएन । न कुनै कार्यक्रम नै । नितान्त यो मेरो पारिवारिक भेटघाट थियो । २०७६ असोज २८ गते मङ्गलबारका दिन बाटो लागियो । बुवाले ‘फुपूलाई हेर्न हिँड् । मलाई पनि पुर्या’ भनेको २/३ वर्ष जति भइसकेको थियो । केही महिनाअघिदेखि ‘तँ जाँदैनस् भने म एक्लै भए पनि कसैको साथ लागेर जान्छु । एक जुगै भयो, दिदीसँग भेट नभएको । पोहोरको सालदेखि त थलै छिन् अरे । आउने कुनै कुनैले खबर ल्याउँछन् । मेरी त दिदी हुन् । माया लाग्छ । आज हो कि भोलि, मर्ने बेला पनि भयो । यसपालि त जसरी भए पनि पुगेर आउँनु पर्छ’ भन्न लाग्नुभएको थियो । लाखे लाखे भन्दै टारेको पनि निक्कै वर्ष भएको थियो । साँच्चै नपुर्याई धर पाइएन । उताबाट आउनेको साथ लागेर गइयो । हतार छ भन्दाभन्दै पनि ३/४ दिनपछि फर्कंदा कान्छो दाइको घर गुवाहाटी ननिस्की भएन । फर्कंदा मामा र भाइ गुवाहाटी मेरोमा निस्केर मात्र जाऊन् भनेर फोन आकोआकै गर्यो । प्रगति मार्ग, नुनमाटी रहेछ, उहाँको घर । उहाँ मेरो फुपूको छोरा– सानो दाइ । कृष्ण क्षेत्री नाम । रेलबाट ओर्लनेबित्तिकै गाडी लिएर आउनुभएछ हामीलाई लिन । बेलुकाको खाना खाँदाखाँदै आँखा कताकता पुगे । छेउको एउटा सानो दराज जस्तो र्याकभरि किताब रहेछन् । मैले यसो नजिकबाट हेर्दा लीलबहादुर क्षेत्रीको ‘झ्याउरे पाटीमा लाग्दा’ पुस्तकमा आँखा अडिए । त्यसपछि अरू के चाहियो ! कुरैकुरामा दाइले ‘मैले देखेको छु लीलबहादुर क्षेत्रीको घर । यी सबै बुक उहाँले मलाई पढ्न दिएका हुन्’ भन्नुभयो । यसो र्याक खोलेर हेरेँ । र्याकको एउटा भाग लीलबहादुरकै किताबले भरिएका थिए । मैले खोजेको पनि त्यही थियो । भनिहालेँ, ‘त्यसो भए दाइ जसरी भए पनि मलाई उहाँको घर पुर्याइदिनू । आसाम आएर पनि मैले उहाँलाई नभेटी फर्कें भने त मेरो आसाम यात्रा सफल हुँदैन ।’ दाइले ‘म पनि नगएको धेरै भयो । भोलि बिहान एकछिन् जाऔँला नि त’ भन्नुभयो । मलाई फेरि अरू के चाहियो । राम्ररी निद्रा लाग्यो ।
भोलिपल्ट बिहान दाइले मलाई लीलबहादुर सरको घर पुर्याइदिनुभयो । नुनमाटीबाट डा. बी. बरुवा रोड, हरिजन स्कुल बाइलेन पथ । बसमा, प्लस हिँडेर गर्दा चानचुन आधा घण्टाको बाटो रहेछ । बिचमा भुलेर पैँतालिस मिनेट जति लाग्यो । बाक्लो गल्लीमा दाइ पनि एकछिन् त अलमलिनुभयो । आहा ! म कति सौभाग्यशाली रहेछु । लीलबहादुर क्षेत्रीसँग भेटघाट र कुराकानी गर्ने अवसर कति सहजै प्राप्त भयो ! एउटा कुरा, भन्दा क्षेत्री भने पनि लेख्दा क्षत्री लेखिँदो रहेछ । ८४ वर्षीय लीलबहादुर चम्किलै हुनुहुन्थ्यो । कुराकानीकै क्रममा एउटा सानो अन्तर्वार्ता पनि तयार पारेँ । बिदा भएर छुट्ने बेलामा ‘त्यस्तो केही हुँदा हामीलाई पनि सम्झनु होला’ भन्नुभयो । लाग्यो, कति लोभी हुन्छ, यो साहित्यिक मन ! अझ फैलिन बाँकी नै रहे जस्तो । मैले हुन्छ भनेँ । साहित्यमा मूलतः बसाइँ र ब्रह्मपुत्रको छेउछाउ यी दुई उपन्यासले देश, विदेशमा समेत चम्किनसम्म चम्किएको नाम हो मेरा लागि लीलबहादुर क्षेत्री । उहाँ आफैँमा आफूले जति गरियो, त्यतिमै सन्तुष्ट हुने मान्छे हो । त्यति हुँदाहुँदै पनि उहाँ हातखुट्टा लागेसम्म त्यसै बस्न नचाहने जाँगरिलो मान्छे पनि हुनुहुँदो रहेछ । सकेसम्म लेखकले लेख्न किमार्थ अल्छी गर्नु हुन्न भन्ने कुरा मैले उहाँबाट पनि सिकेँ । त्यति मात्र होइन । मैले गुरु नै थापेँ । उहाँ पनि सकेसम्म आफ्नो काम आफैँ गर्नु पर्छ भन्ने धारणाको मानिस पनि हुँनुहुँदो रहेछ । ‘नुहाइधुवाइ गरेर लुगा धुनु हुँदै छ, एकछिन् पर्खनुहोस्’ भन्नुभयो म्यामले । हामीलाई धेरैबेर पर्खाउनुभएन । १० मिनेटपछि उहाँ बाथरुमबाट बाहिरिनुभयो । सायद बाथरुमको सबै काम नसकीकन आउनुभयो ।
कुरैकुरामा उहाँको मिसेसले पारिवारिक कुरा झिक्दै दाइसँग भन्नुभयो, ‘त्यहाँ नुनमाटीमा एक जना हाम्रो आफ्नो मान्छे फिजियोथेरापिस्ट पनि छिन् ।’ दाइले ‘त्यो मेरै छोरी हो’ भन्नुभयो । त्यसपछि हाम्रो पारिवारिक नातासम्बन्ध पनि क्लिक भयो । दाइसँग लीलबहादुर सरको सामाजिक कार्यमा सँगसँगै काम गर्दा चिनजान भए पनि लीलबहादुर सरको मिसेसले भन्नुभएको थेरापिस्ट कृष्ण क्षेत्रीकै छोरी हो भन्ने अझै उहाँहरू माझ खुलेको रहेनछ । त्यो त्यतिबेलै खुल्यो । दाइको छोरी–ज्वाइँतिरबाट म पनि लीलबहादुर सरको पारिवारिक नाता सम्बन्धभित्रै पर्दोरहेछु । त्यसपछि हामी पारिवारिक कुराकानीमा पनि एकछिन् जम्यौँ ।
उहाँ कालिकोटे खड्का । पुख्र्याैली थलो तेह्रथुम, सिधुवा–शुक्रबारे । कहाँ टाढा हो रहेछ र हाम्रो पहाड पनि तमोर वारिपारि । तेह्रथुम र पाँचथरलाई तमोर नदीले छुट्याएको भए पनि खुट्टैले हिँड्दा पनि ३/४ घण्टाको बाटो वरपर । त्यति मात्र होइन सुनसरीमा पनि सँगै रहेछौँ हामी । कुरैकुरामा उहाँले भन्नुभयो, ‘बसाइँमा उल्लेख भए जस्तो हाम्रो परिवार खानलाउनको दुःख भएर हिँडेको होइन । बुवाकै पालादेखि हाम्रो परिवार सम्पन्न थियो । गुवाहाटी जस्तो ठाउँमा पनि जमेर बस्नुभएको रहेछ । निक्कै खुसी लाग्यो । भारतीय नागरिक भए पनि नेपाली मूलको मानिस आसामको राजधानी जस्तो ठाउँमा त्यतिको जमेर बस्नु चानचुने कुरा होइन ।’ प्रसङ्गवश उहाँले भन्नुभयो, ‘यहाँ जन्मेको भए पनि लाग्न त लाग्छ नि नेपालको पनि माया, किन नलाग्ने ! हाम्रो पुख्र्यौली थलो हो । बलियोबाङ्गो हँुदा पहिले त बेला बेला आउजाउ गरिरहिन्थ्यो । अब त सक्न पनि छोडियो ।’
समय छोटो थियो । दुई घण्टा बितेको पत्तै भएन । हाम्रो त्यही दिन बेलुकाको टिकट थियो । त्यसपछि हामी उहाँसँग बिदावारी भएर फर्कियौँ । यसरी लीलबहादुर क्षेत्रीसँग मेरो त्यतिबेला साहित्यिक भेटघाट मात्र भएन, पारिवारिक चिनजानसमेत हुन पुग्यो । उहाँसँग बसेर कुराकानी गरेको त्यो क्षण आजाभोलि पनि म बेला बेला सम्झने गर्छु । यो पनि मेरो सम्झनामा आइरहने जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो । बेलुका फेरि दाइ आफैँले हामीलाई गुवाहाटीको रेल स्टेसनसम्म ल्याएर रेल चढाइदिनुभयो । करिब आधा घण्टापछि रेल आयो । न्यु जलपाइगुडीसम्मका लागि गुवाहाटीबाट बेलुका ५ बजे हामी रेल चढ्यौँ ।