राले, अमेरिका । अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्र्दै आउनुभएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र आफन्तहरुको साथमा नै उहाँको निधन भएको समाचारपत्रमा जनाइएको छ ।
वेल सात फिट आठ इन्च अग्लो हुनुहुन्थ्यो । के कारणले उहाँको निधन भएको हो, हालसम्म खुलाइएको छैन । अमेरिकाका राष्ट्रिय र स्थानीय समाचारपत्रहरुले प्राथमिकताका साथ वेलको निधनको समाचार प्रसारण गरेका छन् । अमेरिकन हरर स्टोरीलगायत थुप्रै सिनेमामा भूमिका निर्वाह गर्नुभएका कलाकार तथा भर्जिनिया राज्यको नरफोक काउन्टीको प्रहरी उपप्रमुख वेललाई विशाल शरीर भएका भद्र मानिसका रूपमा चिनिन्थ्यो ।
भर्जिनियाको पोर्टस्मथमा १९५७ मा जन्मनुभएका वेलको नाम गिनिज वल्र्ड रेकर्डमा सन् २००७ मा दर्ता भएको थियो तर तर यसको केही वर्षसम्म अमेरिकाका सर्वाधिक अग्ला मानिसको रुपमा इभोर भोभ्कोभिन्स्कीको नाममा दर्ता भयो । तर सन् २०२१ इभोरको निधन भएपछि अमेरिकाका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान पुन उहाँमा आएको थियो ।
जन्मँदाखेरि साधारण रुपमै जन्मिएका वेल कक्षा चारमा पढ्दा पाँच फिट अग्लो हुनुहुन्थ्यो । ज्यादै तीव्र गतिमा बढ्ने गिगान्टिजम भन्ने हर्मोनको कारण उहाँको उचाइ बढेको कुरा चिकित्सकहरुले बताएका थिए । १२ कक्षा उत्तीर्ण हुँदासम्म वेलको उचाइँ सात फिट ६ इन्च पुगिसकेको थियो । उहाँले मोरिस व्राउनबाट बास्केटबल पनि खेल्ने गर्नुभएको कुरा समाचारपत्रमा जनाइएको छ । लस एन्जल्स ओलम्पिकको समापन समारोहमा पनि उहाँ सहभागी हुनुहुन्थ्यो ।
गिनिज बुकमा विश्वका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान भने ४२ वर्षीय तुर्किस किसान सुल्तान कोसेनको नाममा रहेको छ । सुल्तान ८ फिट २ इन्च अग्लो हुनुहुन्छ ।