गजेन्द्र गुरुङ
खजुरा, चैत ८ गते । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारसँग माग गरेको छ । शुक्रबार काठमाडौँस्थित अर्थ मन्त्रालयमा पुगेर उद्योगी व्यवसायीसहितको संघको टोलीले अर्थमन्त्रीसमक्ष सुख्खा बन्दरगाह निर्माणको माग गरेको हो ।
संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वमा बाँकेका जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई सुख्खा बन्दरगाह निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
अर्थमन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताएको कार्यवाहक अध्यक्ष ओलीले जानकारी दिनुभयो । ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालगन्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी) लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्न भनिएको छ ।
‘नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयात–निर्यात (पैठारी) सस्तो र सहज भइ पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठुलो टेवा पुग्नेछ’ ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालगन्जमा हाल सञ्चालनमा रहेको आइसीपीको पूर्वाधारले तेस्रो मुलुकसँग हुने कारोबार गर्न सम्भव नहुने तथा पैठारी खर्च चर्को हुनाले लागत समेत बढ्न जाने हुँदा वैदेशिक व्यापारलाई सहज र सरल बनाउन पनि नेपालगन्जमा सुख्खा बन्दगाह अपरिहार्य छ ।’
पश्चिम नेपालमा उत्पादन भएका चक्की आँटा, भुजा, जडिबुटी, घ्यु, प्लाइउड, विभिन्न किसिमका मसलाहरु, चाउचाउ लगायतका अन्य मालवस्तुहरु अहिले निर्यात गर्न पूर्वी नेपालको सुख्खा बन्दरगाहमा परनिर्भरता हुनु परेको, जसलेगर्दा ढुवानी खर्च बढी लाग्ने भएकाले उत्पादित अन्तर्राष्ट्रिय बजारमा महँगो पर्न जाने हुँदा नेपालगन्ज सुख्खा बन्दरगाह बनेमा यो समस्या हल हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न सके लुम्बिनी प्रदेश मात्र होइन, नेपालगन्जदेखि मुस्किलले एकसय किलोमिटरको परिधिभित्र रहेको कर्णाली र सुदूरपश्चिम प्रदेशले समेत प्रत्यक्ष आर्थिक लाभ लिन सक्ने बताइएको छ ।
अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउन संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीसहित बाँकेका प्रतिनिधिसभा सदस्य दीपा शर्मा, केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेड, दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगड, उद्योगी सञ्जय अग्रवाल र नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट सहभागी हुनुहुन्थ्यो ।